‘फरार’ टोप बहादुर अर्घाखाँचीमा, डिएसपी रिजाल भन्छन्,‘सर्कुलर आउने वित्तिकै पक्राउ गर्छौं’

दियो पोस्ट  

काठमाडौं । पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्व उर्जामन्त्री टोप बहादुर रायमाझी सभामुख देवराज घिमिरेसहित अर्घाखाँचीमा छन् । अर्घाखाँचीको छत्रदेवमा आयोजित महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

सो कार्यक्रममा सभामुख जाने भएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजाल समेत सुरक्षाका लागि तैनाथ भएका छन् । प्रहरीको संचार शाखामा सम्पर्क गर्दा डिएसपी समेत कार्यक्रम सुरक्षाका लागि त्यहाँ पुगेको जानकारी प्राप्त भएको छ ।

‘हामी कार्यक्रममा सँगै थियौँ । हामीलाई अहिलेसम्म आधिकारीक केही आएको छैन । माथिबाट आदेश आयो भने कार्यान्वयन गर्छौं,’ उनले दियोपोस्टसँग भने,‘हामीलाई म्यासेज सर्कुलर हुने वित्तिकै हामी कार्यान्वयन गर्छौं । प्रक्रियामा आयो भने गर्नुपर्ने कुराहरु हामी गर्छौं ।

नक्कली भुटानी शरणार्थी बनाएर सर्वसाधरणबाट करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहसँग लेनदेनमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव पूर्व उर्जामन्त्री टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । बुधबार काठमाडौं जिल्ला अदालतले रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारीपछि फरारको सुचीमा रहेका रायमाझी हाल सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीमा रहेका छन् ।