पक्राउ पर्ने भएपछि पूर्व गृहमन्त्री बादल पुत्र विज्ञप्तिसहित मिडियामा

नक्कली शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि विज्ञप्तिसहित मिडियामा आएका छन् । बिहीबार विज्ञप्ति जारी गरी थापाले  नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको र अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  थापामाथि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संलग्न रहेको आरोप छ । थापाले शरणार्थी प्रकरणमा झुटो आरोपसहित आफ्नो नाम जोडिएकोप्रति आपत्ति पनि जनाएका छन् ।

‘लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ म विरुद्ध तथ्यहीन प्रचार गरिरहेका थिए र छन्। तर, पनि मिडियामा आएका झुटा प्रचारमा प्रतिक्रिया दिने मेरो व्यक्तिगत रुचि रहेन । म विरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरु लगाउने क्रम जारी छ। राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ । हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं। त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन।मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

थापाविरुद्ध हिजो पक्राउ पूर्जी जारी भइसकेको छ ।