नक्कली भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । हरिभक्त महर्जन न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् ।

हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएको छ ।

घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन्। पूर्वमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार रहेका छन् ।

आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।