शरणार्थी प्रकरणमा आरजु र मन्जु पनि मुछिए, गिरोहसँग साढे ८ करोड लिएको दाबी सहितको अडियो सार्वजनिक

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मन्जु खाण पनि यस प्रकरणमा मुछिएका छन् ।

उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबी सहितको अडियो सार्वजनिक भएको हो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मन्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ।

अडियोमा सरुवाबारे असन्तुष्ट एक व्यक्तिसँग भएको कुराकानी सुनिन्छ। अडियोमा कुरा गर्ने दुवै व्यक्तिको पहिचान नभए पनि प्रसंग नक्कली भुटानी शरणार्थीको भएको प्रष्ट बुझिन्छ। उक्त अडिओमा कुराकानी गर्ने गिरोहका ती सदस्य पनि अहिले प्रहरी हिरासतमा रहेको र अनुसन्धान जारी रहेको स्रोतले बतायो।

यही प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीक अनि पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।

अन्य आठ जना हिरासतमा छन्। हिरासतमा रहेकामा खाणको पालामा गृह सचिव रहेका पाण्डेसम्म छन्।