प्रचण्डलाई एमालेको कटाक्ष : हामी टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस्

नक्कली भुटानी शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेको छ । संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।

प्रमुख सचेतक गिरीले भने,‘प्रधानमन्त्री ज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउँन बाँकी नै भन्दै हिँड्नुभएको छ । सम्माननीय प्रधानमन्त्री ज्यू, हामी फिल्म हेर्न आतुर छौँ, हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस् । हामीलाई अव विश्वास छ, वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविरका घोटला काण्डमा अरवौ रुपैयाँ राज्यको सम्पत्ति लुटिएको थियो । सिसीटिभी फुटेज र बजेटमा बिचौलिया आएका काण्डहरु यो अधिवेशनमा अव गंभीरताका साथ छलफल गरौँ । यस्ता काण्डमा परेकाहरूलाई एक एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ ।’

हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्रचारीहरुका फाइल खेल्ने प्रक्रिया शुरु भएको बताउदै यो ट्रेलर मात्र भएको र पुरै फिल्म बाँकी रहेको बताएका थिए ।