खुमा ओली
काठमाडौं । धादिङमा चरम गरिबीका कारण परिक्षा शुल्क तिर्न नसकेर एक विद्यार्थीले आत्महत्या गरेको घटनामा प्रधानाध्यापक समेत मुछिएका छन् । ज्वालामुखि गाउँपालिका–७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत सोही ठाउँकै जितबहादुर बयलकोटीले परिक्षाको मुखैमा अत्महत्या गरेका थिए । उनलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रधानाध्यापक बलाराम ईटनी विरुद्ध उजुरी परेको हो ।
आर्थिक अभावले पीडित परिवारका अनुसार कक्षा १२ को परिक्षाको तयारीमा रहेका बयलकोटीसँग परिक्षा शुल्क तिर्ने रकम थिएन ।
परिक्षा शुल्क तिरेर प्रवेश पत्र लिनुपर्छ तर, उनीसँग उक्त शुल्क नभएपछि विद्यालयका प्रधानाध्यापक ईटनीले प्रवेश पत्र दिएका थिएनन् ।
जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले दिएको उजुरी अनुसार इटनीले पहिले पैसा ल्याउ अनि भोली प्रवेश पत्र लिएर जाउ भनेपछि घर गएका बयलकोटीले सोही रात आत्महत्या गरेका हुन् ।
पीडित परिवारले प्रधानाध्यापक इटनीकै कारण बयलकोटीले आत्महत्या गरेको दाबी गरेका छन् । उनीहरुले उनी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिने समेत तयारी गरेका छन् ।
प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले यो विषयमा अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, ’पिडीत पक्षबाट त्यस्तो किटानी जाहेरी त अहिलेसम्म आएको छैन । तर हामी आत्महत्याको कारण के हो भनेर अनुसन्धान गरिरहेका छौं ।’
सोही विषयमा इटनीसँग कुराकानी गर्न खोज्दा उनको फोन स्विच अफ भएका कारण सम्पर्क हुन सकेन । प्रहरीमा उजुरीपरेपछि उनी सम्पर्कविहिन भएको पीडितका आफन्तले बताएका छन् ।