विद्यार्थी आत्महत्या प्रकरण : सालबास माबिले भन्यो,‘शुल्क मागेका हौँ, तर प्रवेश पत्र दिएर पठायौँ’

दियो पोस्ट  

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास मा.वि कक्षा १२ मा अध्ययनरत जितबहादुर नेपालीको आत्महत्या प्रकरणमा विद्यालयले विज्ञप्ति निकालेको छ । वैशाख २६ देखि शुरु हुने परिक्षाका लागि आवश्यक पर्ने प्रवेश पत्र लिनुअघि विद्यालयका प्रअ बलाराम ईटनीले शुल्क बुझाउन भनेको र सोही शुल्क बुझाउने पैसा नभएपछि जितबहादुरले आत्महत्या गरेको आरोप पीडित पक्षको छ । सोही विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि विद्यालयले विज्ञप्ति प्रकाशन गरेको हो ।
आज विद्यालयले जारी गरेको विज्ञप्तिमार्फत ११ र १२ मा स्थापना कालदेखि नै न्यूनतम शुल्क लिएको विद्यालयले स्विकार गरेको छ ।
संविधानमा आधारभूत शिक्षा निशुल्क भनिएपनि शुल्क लिएको बिताएको छ ।
“यस्ता शुल्क ज्वालामुखी गाउँपालिकाका सबै र देशभरिका ११ र १२ चलेका प्राय सम्पूर्ण विद्यालयले लिने गरेको छ । शुल्क हटाउन राज्यले वैकल्पिक व्यवस्था नगरेसम्म सम्भव पनि छैन,’ विज्ञप्तिमा भनिएको छ ।
जबकी माध्यमिक तहसम्म अनिवार्य तथा निशूल्क अध्ययनको व्यवस्था कानुनमा उल्लेख छ । त्यसमाथि पनि दलित समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षा (कक्षा १२) सम्म निशुल्क अध्ययनको व्यवस्था छ ।
तर उक्त विद्यालयले यस्ता निती तथा कानुनका कुरालाई अपव्याख्या गरेको छ ।

“प्रहरीले गरेको सर्जमीन मुचुल्का, स्थानीयवासीको कुरा तथा साथीभाईहरुको भनाइ समेतलाई आधार मानेर हेर्दा मृतक जीत वहादुर वयलकोटीको आत्महत्या प्रकरणमा विद्यालयको शुल्क तथा प्रवेशपत्र कारक नभइ लामो समयको मानसिक तनाव द्धन्द्ध देखिन्छ”, विज्ञप्तिमा भनिएको छ,“प्रहरीमा जाहेरी परिसकेपछि त्यसको निष्पक्ष छानविन हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।”
विद्यालयले विद्यार्थीसँग शुल्क मागेको तर, पछि शुल्क बुझाउने शर्तमा प्रवेश पत्र दिएर पठाएको प्रअ ईटनीले दियोपोस्टलाई बताए ।