‘टोपबहादुर दोषी छैनन् भने किन लुकेर बसेका छन् ?’

नक्कली भुटानी शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भनेर अदालतले पक्राउ पूर्जी जारी गरेपछि फरार भएका सांसद तथा एमाले सचिव टोपबहादुर रायमाझीमाथि नै प्रश्न उठेको जसपा सांसद प्रदीप यादवले बताएका छन् ।

रायमाझी प्रहरीको सम्पर्कमा रहेको हल्लाले उक्त प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई पनि शंकाको घेरामा पारेको यादवको भनाइ छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले नक्कली शरणार्थी प्रकरणमा सांसद रायमाझीले प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताएका छन् । प्रहरीले पनि निष्पक्षताका साथ शंका नउठ्ने ढंगले अनुसन्धान गर्नुपर्ने माग सांसद यादवले गरेका छन् । ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ करोडौं रकम असुल्ने मुद्दामा फरार रहनुभएका फरार माननीय टोपबहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन । यदि उनी दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् ? लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्दछ । उनका छोरा पक्राउ पर्नुले थप बल पुगेको अवस्था छ,’ यादवले भने ।