नक्कली भुटानी शरणार्थी प्रकरण: फरार रायमाझीको निवासमा प्रहरीको खानतलासी

देशभरका प्रहरी निकायमा पत्राचार

दियो पोस्ट  

काठमाडौं । प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी लिइएको बताए । उनको निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला परेनन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट दुबैजनाविरद्ध पक्राउ पुर्जी लिएको थियो ।

रायमाझीलाई पक्राउ गर्न देशभरका प्रहरी निकायमा पत्राचार समेत गरिएको छ ।

उनका छोरा पक्राउ परेपनि रायमाझी ‘फरार’ रहँदै आएका छन् । दुवै जनामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप छ ।