सरकारी वकिल कार्यालयमा खाँणले भने-प्रधामन्त्रीको नाम पनि नोट गर्नुस्

नक्कली भुटानी शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्बभन्दा बढी ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

बुधबार उनलाई चाबहिलस्थित पक्राउ गरेको हो । पक्राउ परेका खाणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याइएको थियो । सो क्रममा अनुसन्धान अधिकारीले यो–यो कारणले उहाँलाई पक्राउ गर्नु परेको र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाउँ भन्दै म्याद मागेका थिए ।

त्यसपछि खाणले पनि म पनि मेरा केही कुरा राख्छु भन्दै बोल्न थाले । खाणले भने, ‘नक्कली शरणार्थी बनाएर कसैलाई पनि अमेरिका पठाइएको छैन । कोही पनि अमेरिका नगएको घटनामा कसरी ठगी भयो ?’

सरकारी वकिल कार्यालयमा केही पीडित पनि उपस्थित भएका थिए। त्यसपछि पीडितले पनि त्यहाँ कुरा राखे । पीडितलाई सोधियो–‘तपाईंहरुले कसलाई पैसा दिएको हो ?’ पीडितले विचौलियाको नाम दिए ।

‘तर विचौलियाहरुले हामीलाई मन्त्री, प्रधानमन्त्रीसम्म सबै मिलाइसकेका छौं भन्थे’ पीडितले भने । त्यसपछि खाणले हौसिदै भने, ‘सुन्नुभयो, प्रधानमन्त्री रे ।’ ‘नोट गर्नुस्, नोट गर्नुस् प्रधानमन्त्री रे,’ खाणले भने । त्यसपछि उनलाई तीन दिनको म्याद दिएर थुन्न हिरासतमा पठाइयो ।

नक्कली भुटानी शरणार्थी बनाएर रकम कुम्ल्याउने दाउमा अवैध काम गरेको अभियोगमा प्रहरीले हाल सम्म १२ जनालाई पक्राउ गरिसकेको छ । पछिल्लोपटक आज ९बुधबार० बिहान प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीसहित पूर्वगृहमन्त्री खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो। योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो ।

यसअघि मंगलबार प्रहरीले काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको छ । यसभन्दा अघि पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन् ।

यस्तै सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ गरेको छ ।

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ ।