आफ्नै फाउन्डेसनका बालिकामाथि मदन राईको यौन दुर्व्यवहार, सिजपले गर्‍यो कडा कारबाहीको माग

दियो पोस्ट  

काठमाडौं । बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको तथ्य उजागर भएपछि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान सिजपले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राईलाई कडा कानुनी कारबाहीको माग गरेको छ ।

सिजपले एक विज्ञप्ति जारी गर्दै राईलाई कारबाहीका साथै पीडित बालिकाको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

कृषि विज्ञका रूपमा परिचित राईले आफैँले खोलेको फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको सम्बन्धी समाचार बिहीबार सेतोपाटी डटकमले प्रकाशित गरेको थियो ।

फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले किशोरी तथा बालिकाका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएको समाचारमा उल्लेख छ ।