काठमाडौं । नेपाली नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्ने गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको ४ जना अझै फरार रहेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको भन्दै अनुसन्धानका लागि प्रहरी पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी लगायत तत्कालीन गृहमन्त्री रामबहादुर थापा पुत्र प्रतिक थापा, पूर्वसभासद आङ्टावा शेर्पा, पुर्व गृहमन्त्री थापा कै सुरक्षा सल्लाकार इन्द्रजित राईका छोरा निरज राइविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
तर, चारै जना अहिले फरार रहेपछि प्रहरीले सम्भावित स्थानमा खोजतलासलाई तीव्र बनाइरहेको छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको खबर सञ्चामाध्यममा आउँदा उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा व्यस्त थिए । तर, उनी प्रहरीलाई छल्दै सभामुख देवराज घिमिरेसँग भैरहवासम्म आएपनि त्यहाँबाट फरार भएका रायमाझी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । उनी भारतमा लुकेको हुनसक्ने आशंकासहित प्रहरीको एक टोली यतिबेला भारत पुगेको छ । रायमाझी फरार भएको ११ दिन बितिसक्दा समेत पक्राउ पर्न सकेका छैनन् । बरु उनले एमाले नेतृत्वलाई नै घात गरेको र अनुसन्धानमा सघाउनुको साटो फरार भएको भन्दै पार्टीले सचिवबाट निलम्बन गरिसकेको छ । प्रहरीले साझमाझीका छोरा सन्दीपलाई भने वैशाख २० मै पक्राउ गरेको थियो ।
यस्तै इन्द्रजित राईका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएपछि इन्द्रजित वैशाख १९ मा पक्राउ परेका थिए ।
यस्तै पछिल्लो पटक पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा र पूर्वसांसद आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्द्रजित पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएसँगै थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । प्रतीकले यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
यस्तै आङटावा २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट समेत गरेका थिए ।