धादिङ । धादिङको थाँक्रे गाउँपालिका कार्यालय महादेववेशीमा यतिबेला तालाबन्दी छ । स्थानियबासी तालाबन्दीमा उत्रनुको प्रमुख कारण हो–मापदण्ड विपरित अवैध रुपमा संचालनमा आएका क्रसर तथा ढुंगाखानीको ज्यादती ।
अवस्थित रुविना एग्रीगेट्स प्रा.ली नामक क्रसर उद्योग कामनपा १४ कलंकी ठेगाना उल्लेख गरिएको छ । तर, यो खानी धादिङको थाँक्रे ४ आग्राखोलाको धार नै बदलेर संचालनमा आएको वर्षौं भइसक्यो । नेकपा एमालेका नेता रामकुमार राई र एमाले निकट युवा संघ बागमती प्रदेशको उपाध्यक्ष समेत रहेका दिलिप पौडेल लगायतको समुहले संचालन गरेको उक्त क्रसर संचालनमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको समेत सहयोग छ ।
सोही कारण स्थानियबासी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले केहीदिन अघि गाउँपालिका कार्यालय महादेववेशीमा तालाबन्दी गरेका हुन् । तालाबन्दी भएको ४ दिनसम्म पनि गाउँपालिकाले सुनुवाई नगरेपछि स्थानियबासी चिन्तित छन् ।
गाउँपालिकाले २०७६ असोज १० गते नै साधारणा निर्माणमुखी खनिज पदार्थ उत्खननका लागि अनुमति दिएको छ । तर, खानी विभागबाट जारी गरिएको सर्त तथा मापदण्ड विपरित आग्रा खोलाको धार नै बदलेर खानी संचालकहरुले अवैध धन्दा चलाइरहेका छन् । त्यतिमात्रै होइन सार्वजनिक जग्गा र यसअघि चरन चौरको रुपमा रहेको परेवा भिर नै सखाप पारेर क्रसर डनहरुले उत्खनन् गरेका छन् ।
शनिबार दियोपोस्टको टोली थाँक्रे ४ धैरेनीस्थित लालीगुराँस आधारभूत माध्यमिक विद्यालय पुग्दा स्थानियबासीहरु भेला भएर बसेका थिए । अवैध क्रसर र उत्खनन्का कारण सार्वजनिक कुलो र बाटो नै सखाप पारिएको उनीहरुको गुनासो छ । त्यस्तै क्रसरले स्थानिय लालीगुराँस आधारभूत विद्यालय समेत पहिरिने गरि सार्वजनिक पहरामा डोजर र २२० एलसीको ब्रेकर चलाएर विद्यार्थीहरुलाई पढ्न पाउने अधिकारबाट बञ्चित गरिएको छ ।
स्थानिय बद्रि अर्यालका अनुसार क्रसर र खानीका कारण आफ्नो नातिनीले स्कुलमा उपयुक्त वातावरण समेत पाएकी छैनन् । ‘खानीका कारण धुलो धुवाँ सबै यहीँ आउँछ । बच्चाहरु स्कुल जानै मान्दैनन् । ब्रेकरको आवाजले विद्यार्थीहरुलाई तनाव दिइन्छ । उनीहरु शिक्षा पाउनबाट बञ्चित छन्,’ उनले भने,‘शिक्षकले समेत पहल गरेका छन् । तर, सुनुवाई कसैले गरेका छैनन् ।’
उनका अनुसार खानीका कारण पुरानो बाटो समेत ध्वस्त बनाइएको छ । ‘हामी जनताले २ सयदेखि ३ सय उठाएर ट्रयाक खनेका थियौँ । त्यो समेत अहिले भत्किएको छ । हामीले गाडीको बाटो पनि आफै खनेका हौँ । तर, आज त्यो बाटो पनि भत्काउँदै लगेको छ,’ अर्याल भन्छन्,‘यहाँको जनतालाई कुनै जानकारी दिइएको छैन ।’
उनका अनुसार स्थानियबासीमाथि दिलिप पौडेल र रामबहादुर राईले ज्यादती नै गरेका छन् । ‘खानी संचालन गर्नुअघि सार्वजनिक सुनुवाई गरेको छैन । एक्कासी आग्राखोलामै क्रसर संचालन गरेर उत्खनन् थालिएको थियो,’ उनले भने,‘यो वर्षौंदेखि ज्यादती भएको छ । यो खानी बन्द गराउन यहाँको जनताले सिडिओ कार्यालयदेखि विभिन्न निकायमा धाएका छन् । तर, सुनुवाई भएको छैन । यो खानीले हाम्रो सिँचाई कुलो समेत ध्वस्त भएको छ ।
उनका अनुसार खानी संचालकहरुले सिँचाइको पाइप समेत फूटाएर साइड लगाइदिएका छन् । खानीका कारण स्थानिय आग्रा खोला समेत सुकेको छ ।
खानीका कारण बालबालीकाको स्वास्थ्य विग्रिएको, सिँचाइ कुलो लड्न लागेको, महादेवेशी जाने बाटो भत्किएको लगायत समस्या आएकोे उनको भनाई छ ।
थाँक्रे ४ का वडासदस्य प्रकाश बस्नेतका अनुसार क्रसरले स्थानियमा पारेको समस्याका बारेमा विभिन्न निकायमा जाँदा समेत कुनै सुनुवाई भएको छैन ।
‘बाटोदेखि सिँचाइ कुलो सबै जान लागेको छ । हामीले वडाको बैठकले पटक पटक खानी बन्द गर्न पालिका र प्रशासनलाई सिफारिस गरेको छ,’ उनले भने,‘तर, पालिकाले कुनै सुनुवाई गर्दैन । जनताले तीन पटक कार्यालय घेराउ गरिसकेका छन् । के कसको पहुँचको आधारमा खानी चलिरहेको छ । दिलिप पौडेल जी एमालेबाट युवा संघ बागमती प्रदेशको उपाध्यक्ष हुनुहुन्छ रे । राम बहादुर राई एमालेको जिल्ला कमिटि सदस्य हुनुहुँदो रहेछ ।’
गाउँपालिका उपाध्यक्ष तथा तत्कालिन कार्यबाहक अध्यक्ष यन्त्रबहादुर थापाले खानी बन्द गर्नका लागि पत्राचार नै गरेका थिए । गत चैत्रमा उनले उक्त खानीले मापदण्ड पालना नगरेको भन्दै पत्राचार गरेका हुन् । तर, उनले पत्रमा खानी सम्बन्धी कुन शर्त उलंघन गरेको भन्ने नखुलाएको भन्दै उच्च अदालत पाटनमा परेकाे मुद्दा परेकाे थियाे । खानी संचालकहरुले अदालतलाई समेत प्रभावमा पारेर स्टेअर्डर लिएको आरोप स्थानियबासीको छ ।
स्थानिय असोक अधिकारीका अनुसार खानी संचालकहरुले स्थानिय सरकारसँग सेटिङ गरेर किर्ते नक्सा समेत पेश गरेर अनुमति लिएका छन् । उनीहरुले स्थानिय लालीगुराँस माध्यमिक विद्यालयलाई नक्सामा समेत नदेखाएर कागजात पेश गरेको उनीहरुको आरोप छ ।
गाउँपालिकाले खानी क्षेत्रमा विभिन्न १८ बुँदे सर्त पालना गर्ने गरि खानी संचालनको अनुमति २०७६ सालमै दिएको थियो । तर, उक्त खानीले उक्त सर्तहरु पालना नगरेको स्थानियबासीको भनाई छ ।
खानी संचालक मध्येका युवा संघका उपाध्यक्ष दिलिप पौडेलले एक पत्रकारलाई भिडियो मार्फत दिएको अन्तर्वार्तामा आफूहरुले नियमानुसार खानी संचालन गरेको बताएका छन् । तर, सार्वजनिक जग्गा खानीले उपयोग गर्नुअघि मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने हुन्छ ।