टोपबहादुर, बालकृष्णसहितका आरोपी थप ३ दिन हिरासतमा रहने

नक्कली भुटानी शरणार्थी प्रकरण :

दियो पोस्ट  

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सो निर्देशन दिएका थिए । तर, अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले जानकारी दिए ।