आरजु राणाको बचाउमा उत्रिए कांग्रेसका भातृ संगठनहरु, भन्छन्– ‘उनीमाथि झुट्टा आरोप लगाइयो’

नक्कली भुटानी शरणार्थी प्रकरणः

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाको नाम मुछिएपछि भातृ संगठनहरु उनको बचाउमा उत्रिएका छन् । बिहीबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विज्ञप्ति जारी गर्दै उनीमाथि लाञ्छना लगाउनु गम्भिर अपराध भएको भन्दै आपत्ति जनाएको हो । तरुण दलको विज्ञप्तिमा भनिएको छ,“भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाण विना कसै प्रति लाञ्छना लगाउनु गम्भीर अपराध हो । यस प्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रीय समिति आग्रह गर्दछ ।”
त्यस्तै नेविसंघले पनि आरजुको नाम जोडेर संञ्चारमाध्यमा आएका कुराहरु भ्रामक भएको दाबी गरेको छ । “काँग्रेस नेतृ डा. आरजु राणा देउवा जी को नाम जोडिएर आएको नक्कली अडियो छानबिनको लागि उहाँले दिनुभएको उजुरी माथि छानबिन हुन नसक्नु दुःखद छ । तत्काल सो अडियोको छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न पनि ने। वि। संघ प्रशासनसँग जोडदार माग गर्दछ । विज्ञप्तिमा भनिएको छ”, “देशकै इज्जतमाथि प्रश्न उठाउने गरि भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार हो । नागरिकको सो अधिकारको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरि नागरिकलाई झुटा अफवाह र गलत सूचनाबाट दिग्भ्रमित हुनबाट रोक्नका लागि सञ्चार माध्यमको भूमिका थप प्रभावकारी बनाउन आग्रह गर्दछौ ।”