काठमाडौं । आँखाले हेरेकै भरमा जस्तोसुकै रोग ठिक पारदिने भन्दै भ्रम छरेर ठगी गरिरहेका ‘सीमान्त गुरु’ भनिने भरत केसीमाथि कारबाहीको माग गरिएको छ। केही समयअघि पोखरामा उनले ठगी धन्दा चलाएको भन्दै कारबाही गरिएको थियो। उनले काठमाडौंको तारेकश्वरमा उक्त धन्दालाई निरन्तरता दिएका हुन्।
तिनै व्यक्ति अहिले काठमाडौं आएर भ्रम फैलाइरहेका छन्। भ्रमको पछि लागेर दैनिक चार सय जना उनीकहाँ पुग्ने गरेको बताइएको छ। यसरी सर्वसाधारणलाई झुक्याएर उनले तीन दिनमै लाखौं असुलिसकेका छन्।
उपचार जस्तो संवेदनशील कुरामा भ्रम सिर्जना गरिएको भन्दै कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको हो। ‘हालै सामाजिक सञ्जालमा व्यापक मात्रामा आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने विश्वास भन्दै सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गर्न खोजिएकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्ति जारी गर्दै भनिएको छ।
उनको ‘क्लीनिक’ आजबाट प्रहरीले बन्द गराएको छ ।