पक्राउको १२औं दिनमा श्रीमान् भेट्न हिरासतमा मञ्जु

नक्कली भुटानी शरणार्थी प्रकरण :

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण उनलाई भेट्न हिरासत पुगेकी छन् । उनले आज बिहान काठमाडौं प्रहरी परिसर पुगेर श्रीमान्‌लाई भेटेकी हुन् ।

परिसरमा बालकृष्णलाई राखिएको कोठैमा प्रहरीले मञ्जुलाई प्रवेश दिएको थियो । उनीहरूबीच पाँच मिनेटजति कुराकानी भएको स्रोतको भनाइ छ । बालकृष्णलाई परिसरका डीएसपीको कार्यकक्षभित्र रहेको एउटा कोठामा राखिएको छ । त्यही कोठामा श्रीमान्–श्रीमतीको भेट भएको छ ।

मञ्जु पनि नक्कली शरणार्थी प्रकरणमा विवादित बनेकी थिइन् । उनी र आरजु राणालाई रकम दिएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भएको थियो । त्यस अडियोमाथि प्रहरीले छानबिन गरिरहेको थियो ।

सम्पर्क विहीन भएकी उनी गत शुक्रबार एकाएक संसदमा टुपुल्किएपछि मानिसहरू आश्चर्यमा परेका थिए । आफू विदेश उडेको समाचार आइराख्दा उनले कतै पनि खण्डन गरेकी थिइनन् । अहिले पनि उनी मिडियासँग कुरा गर्न चाहिरहेकी छैनन् ।