प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३ अभियोगमा ३३ जनालाई प्रतिवादी बनाउन सिफारिस

नक्कली भुटानी शरणार्थी ठगी प्रकरण :

दियो पोस्ट  

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ।सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको बताए। उनले अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने बताए। उनले सरकारी वकिल कार्यालयमा प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गर्ने पनि बताए।

यो ठगी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। यो प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, खाणका सहयोगी नरेन्द्र केसी पक्राउ परेका छन्।

त्यस्तै, गृह मन्त्रालय मातहतको हज समितिका अध्यक्ष शमशेर मिया, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, टेक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी गरी १६ जना पक्राउ परेका छन्।

उनीहरुमाथि संगठित ठगी, कीर्तेसम्बन्धी कसुर र राज्यविरुद्धको अपराधको कसुर लगाउनुपर्ने रायमा उल्लेख गरिएको छ।

प्रहरीले ३३ जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिएको छ। १६ जना पक्राउ र बाँकी १७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।