काठमाडौं । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गाडीको भाडा घटाएको हो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको हो ।
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।