फेवाताल माटोले पुरेर ‘अपार्टमेन्ट’ बनाउने धन्दामा धादिङका युवराज खतिवडा, ७ जना पक्राउ !

दियो पोस्ट  

काठमाडौं । धादिङको खाल्टे घर भएका युवराज खतिवडा पैसाको निकै रवाफ देखाउने व्यक्ति हुने् । गत स्थानिय चुनावमा निलकण्ठ नगरपालिकाको मेयरको टिकट किन्न करोडौं रुपैयाँको बार्गेनिङमा लागेका उनै खतिवडाको असली धन्दाको पर्दा खुल्न थालेको छ ।

आफूलाई समाजसेवीको रुपमा समेत बताउँदै आएका उनी राष्ट्रिय सम्पदाको दोहनमा लागिरहेको तथ्य पटक पटक सार्वजनिक हुँदा पनि उनीमाथि कारबाही भएको छैन । पोखरामा रहेको फेवाताल अतिक्रमण गरिरहेका उनी यतिबेला प्रशासन र प्रहरीमाथि नै जाइलाग्न थालेका छन् । उनको समुहले कास्की प्रहरीमाथि नै जाइलागेको घटना सार्वजनिक भएको छ ।

खतिवडाले फेवातालको पामे क्षेत्रमा आवास प्रयोजनका लागि सीमसार क्षेत्र नै पुरेर अतिक्रमण गरेका हुन् । शनिबार पोखरा महानगरको टोली त्यहाँ पुग्दा खतिवडाको समुहले उनीहरुमाथि नै आक्रमण गरेको खबर आएको छ । पोखरा महानगरको ग १ झ ३२० नम्बरको पिकप गाडीमा नगर प्रहरी सहितको टोली सीमसार क्षेत्रमा जाँदै गर्दा खतिवडाको समुहले संचालन गरेको ग १ ख ८६८७ नम्बरको टिफरसँग जम्काभेट भएको थियो । उक्त टिफरमा उनको समुहले माटो ओसार पोसार गरिरहेको अवस्थामा नगर प्रहरीले समेत सोधपुछ गरेको थियो ।

खतिवडाले माओवादी नेताहरुको आडमा पोखराका विभिन्न ठाउँमा मापदण्ड मिचेर सटर व्यावसायी गर्दै आएका छन् । यसअघि २०७८ भदौमा उनी फेवाताल अतिक्रमण गरेकै आरोपमा पक्राउ परेका थिए । तर, माओवादी नेताहरुकै दबावमा उनी छुटेका थिए । उनको सामाजिक सञ्जाल नियाल्दा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मात्रै होइन हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि उठबस देखिन्छ ।
शनिबार पनि उनको टिफरले माटो ओसारी रहेको अवस्थामा रंगेहात भेटिएको थियो । प्रहरी वृत्त बैदामका डिएसपी बेदराज जोशीको सक्रियतामा माटो बोकेका टिफरसहित गाडी रोक्ने कोशिस भएपनि खतिवडाको समुहले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको थियो ।

प्रहरीले खतिवडाको समुहका ७ जनालाई पक्राउ गरेको थियो । तर, पक्राउ परेका ७ जनालाई नै प्रहरीले कुनैपनि मुद्दा नलगाई उन्मुक्ति दिएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त प्रहरी नायब उपरिक्षक (डिएसपी) श्रवणकुमार विकका अनुसार विवादपछि प्रहरीको नियन्त्रणमा आएका ७ जना अहिले छुटेका छन् । ‘उहाँहरुलाई कुनै पनि मुद्दा लगाइएको होइन । आजै उहाँहरुको आफन्तले जिम्मा लिएर जानु भएको छ,’ उनले दियोपोस्टसँग भने,‘नगर प्रहरीसँग विवाद भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।’

धादिङ घर भएका खतिवडा वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका निकट पात्र हुन् । उनलाई जमकट्टेलले यसअघि पक्राउ पर्दा समेत संरक्षण गर्दै आएको आरोप छ ।