छुट्टाछुट्टै ठाउँमा पोखरीमा डुबेर ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा पोखरीमा डुबेर मृत्य भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ बर्मेली टोल बस्ने एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईन्द्रवती केवटकी छोरी ४ वर्षीया गबिता केवट रहेकी छिन् । आफ्नै घर अगाडि खेल्ने क्रममा धाराको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहस्थित सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर एक जनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदम राईको छोरा ८ वर्षीय साङकेन राई रहेका छन् । उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर असक्त भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

साथै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ हिलेको हुतुरे खोल्साको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४१ वर्षीय भक्त बहादुर थामी रहेका छन् । घाँस काट्न गएकोमा उक्त खोल्सामा डुबेर अशक्त अवस्थामा फेला परेका उनको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको आइतबार साँझ क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।