प्रधानमन्त्री दाहाल भारत प्रस्थान

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत गएका हुन्। परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएको थियो।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतसँग दीर्घकालीन उर्जा व्यापारका विषयमा सम्झौता हुने बताएका छन्। भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भएको मन्त्री साउदले जानकारी दिए।

परराष्ट्रमन्त्री साउदका अनुसार दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने विश्वास छ। यस्तै, महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ।

भ्रमण दलमा मन्त्री, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मी, व्यवसायीलगायतको सहभागिता छ।