पर्वत, ३ जेठ । सिँचाई मन्त्री उमेश कुमार यादवले संविधान कार्यन्वयनमा जुट्नुपर्ने बताएका छन् । सरकारले सविधान कार्यन्वयनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले विभिन्न नीति तथा कानुनह संशोधन तथा निर्माण कार्य शुरु भएको जानकारी दिए । संविधान कार्यन्वयन हुन नदिनको लागि विदेशी शक्ति लागि परेको समेत यादवले खुलासा गरे ।
फलेवास सिचाई प्रणालीको सिंचाइ व्यवस्थापन हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली जनता स्वभिमान हो, भन्ने कुरा पटक–पटक परिचय दिइसकेकाले अब यसलाई कसैले दवाउने प्रयास नगरे हुन्छ,’ यादवले भने, ‘नेपाली जनता भोकै बसे तर कसैको अगाडि झुकेन यो भन्दा अरु प्रमाण राष्ट्रियताको के हुनसक्छ ?’
कृषि मन्त्रालय र सिचाइ मन्त्रालयबीच समय भइरहेको जानाउँदै उनले कृषि मन्त्रालयले कृषिका लागि पकेट क्षेत्र घोषणा गरेको ठाउँमा जसरी पनि सिचाई पुर्याउने लक्ष्य लिएको बताए।
फलेवास सिचाइ प्रणालीको सिचाई व्यवस्थापन हस्तान्तरण सम्बन्धि प्रारम्भिक सम्झौता पत्र हस्ताक्षर कार्यक्रमका प्रमुख सिचाई मन्त्री यादव, सिचाई विभागका महानिर्देशक रमानन्द यादव र मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको उपस्थिति थियो । समुदाय व्यवस्थित सिचित कृषि क्षेत्र आयोजनाका निर्देशक कौशलकिशोर झाका अनुसार फलेवास सिचाई योजना सम्पन्न भएपछि तीनसय ३८ हेक्टर जमिन सिचित हुनेछ । यस आयोजनाका लागि पाँच करोड त्रिहत्तर लाख असि हजार चार सय साठी रुपियाँ लागत अनुमान गरिएको छ । सम्झौतपत्रमा उल्लेख भए अनुसार नहर प्रणालीमा विद्यमान संरचनाहरुको सुधारका अतिरिक्त कृषि उत्पादन बृद्धि गर्न आवश्यक उन्नत बीउ, प्राविधिक सहयोग, कृषि तालिम जल व्यवस्थापन तालिम जस्ता कार्यक्रमहरु सञ्चालन हुनेछ ।