चण्डेश्वरी जात्राको तयारी सुरु

diyopost.com
bestnp  शुक्रबार, जेठ ०७, २०७३ | ११:१२:३८

 

९युवराज पाण्डे०

बनेपा, ७ जेठ । बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्राको तयारी सुरु भएको छ ।

जात्राका लागि बनेपा नगरपालिकाले कुल रु आठ लाख ८५ हजार खर्च हुने अनुमान गरेको छ । रु १२ लाख यस जात्रालगायत अन्य विभिन्न चाडपर्वमा खर्च हुने बनेपा नगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर वैद्यले जानकारी दिए ।

बनेपा नगरपालिकाले छुट्याएको सो बजेट भीमसेनजात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्य पूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजालगायत संस्कृति संरक्षणमा खर्च हुने उनले बताए ।

सूचना अधिकारी वैद्यले जात्रालाई व्यवस्थित गर्न बनेपा नपा–१० निवासी देवराज चौप्रधानलाई द्वारे नियुक्तसमेत गरिएको उल्लेख गर्दै जात्राका लागि द्वारेलाई सहयोग गर्ने सहद्वारे र महाहरुसमेत हुने जानकारी दिए ।

उनका अनुसार जात्रामा कंपुग बाजा, शाही बाजा विधि बाजाका रुपमा बजाइन्छ । यस अतिरिक्त सनही बाजा र धिमे बाजासमेत बजाइन्छ । जात्रामा कम्तीमा १४ वटा बलि पूजासमेत गरिन्छ । बनेपा नगरपालिकाले सो जात्राका लागि सरसफाइदेखि सरकारी निकायसँगको समन्वयसम्म सहयोगीको भूमिका निर्वाह गर्ने गरेको छ ।

जेठ ८ र ९ गते दुई दिनसम्म मनाइने सो जात्राको अघिल्लो दिन उहिलेका राजामहाराजहरुले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजासमेत गरिने प्रचलन छ ।

संस्कृतविद् ज्ञानकाजी मानन्धरले दिएको जानकारीअनुसार चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी हुन् । चण्डेश्वरीदेवीले दैत्यराज चण्डासुरको वध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको हो । पूर्णिमा र त्यसको भोलिपल्ट यो जात्रा लाग्छ ।

वंशावलीअनुसार सत्ययुगदेखि यो जात्रा हुने गरेको उहाँको भनाइ छ । चण्डासुर दैत्यको वध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले यो जात्राको परम्परा सुरु भएको उनि बताउँछन् ।

संस्कृतविद् मानन्धरले नेपाल संवत्को सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात् भएको जानकारी दिँदै स्थानअनुसार फरक फरक रुपमा काभ्रेपलाञ्चोकमा जात्रा गर्ने प्रचलन रहेको बताए ।
उनका अनुसार उग्रचण्डीनालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेत गणेशको, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।

साहित्यकार तथा काभ्रेपलाञ्चोकका अग्रज पत्रकार मोहन दुवालले चण्डेश्वरी मन्दिर लिच्छविकालीन मन्दिर भएको उल्लेख गर्दै काठमाडौँको नरदेवी र बूढानीलकण्ठमा समेत चण्डेश्वरीको जात्रा हुने जानकारी दिए ।

नेवारी समुदायले यो जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।

सम्बन्धित खबर