चितवन, १५ जेठ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पार्टी विभाजनले आफूहरुलाई असर नपरेको बताएका छन् ।
विभाजनबाट दक्षिणपन्थी साथीहरुको बर्हिगमन भएको भन्दै उनले सच्चा क्रान्तिकारीहरु आफ्नो पार्टीमै रहेको दाबी गरे ।
पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही साथीहरुलाई एकताको हावाले भन्दा पनि दक्षिणपन्थीको हावाले ढालेको टिप्पणी गरे ।
अध्यक्ष वैद्यले पछिल्लो समयमा द्वन्द्वकालीन मुद्दा ब्युँताइएकामा आपत्ति प्रकट गर्दै उनले दश वर्षे क्रान्ति असफल भएकाले जनवादी क्रान्तिको आवश्यकता रहिरहेको बताए ।
अहिलेको बजेटले पुँजीवादी र सामन्ती सत्ताको झलक दिन खोजेको उनको प्रतिक्रिया थियो । बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै उनले अहिलेको सरकारले जनताको हितमा काम गर्न नसक्ने दावी गरे । रासस