दियोपोस्ट संवाददाता
काठमाडौं, १८ वैशाख । राजधानीको माइतीघर मण्डलामा नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा फहराई रहेको छ । काठमाडौंको मुख्य भागमा १ सय फिटको अग्लो झन्डा आखिर कसले ठड्याएका हुन् ? हामी मध्ये धेरैलाई यो जिज्ञासा हुनसक्छ ।
यसरी झन्डा उठाउने व्यक्ति हुन्–पुरन गिरी । उनकै प्रयासमा आजभन्दा २ वर्ष पहिलो २०७३ साल माघ १६ गते सहिद दिवसको दिन माइतिघर मन्डलामा झन्डा फहराइएको थियो । नेपाली देशभक्त युवा समाज नै गठन गरेर आयोजना गरिएको कार्यक्रममा तत्कालिन नेकपा एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।
प्रधानमन्त्री ओलीले केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उनले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताएका थिए ।
१० मिटर लामो र साढे ७ मिटर चौडाइमा रहेको झन्डा एउटा डन्डीमा मात्रै थियो । तर, गिरीकै पहलमा ठूलो पोल नै खडा गरी झन्डा फहराइएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा उक्त झन्डालाई पोलमा सारिएको थियो । सय फिट लामो पोलमा ३० फिट लामो झन्डा फहराइएको गिरीले जानकारी दिए ।
गिरीले राष्ट्रिय झन्डा महाअभियान नै थालेका छन् । उनी अभियान्ताको रुपमा विभिन्न स्थानमा पुग्ने गरेका छन् ।
‘राष्ट्रिय झन्डाले हामी सबैलाई एकतामा बाँधेको छ । हामीले २०७३ साल माग १६ गते युवाहरुको एउटा समुहले सानो पोल गाडेर शुरु गरिएको थियो,’ पुरनले भने,‘त्यो पोल होँचो भएपछि हामीले नयाँ योजना सहित अघि बढ्यो र १८ टन फलाम भएको पोल गाडेका छौँ ।
गिरीका अनुसार जमिनमा १५ टनको जग हालिएको छ । यता पोलमा भने ३ टनको फलामको पोल प्रयोग भएको छ ।
‘यो हामीले विमस्टेक सम्मेलनको बेलामा नै झन्डात्तोलन गर्न खोजेका थियौँ । तर होइन संविधान दिवसकै दिन गर्नुपर्छ भन्ने सोचेर सोही दिन युवा विद्यार्थी मिलेर संयुक्त रुपमा झन्डात्तोलन गर्यौं,’ अभियान्ता गिरी भन्छन्,‘हामी नेपालको हरेक प्रदेशमा सक्यौँ भने यही साइजको सकेनौँ भने कम्तिमा ८ मिटरदेखि तल नघट्ने गरेर सबैठाउँमा फर्फराउने हाम्रो योजना छ ।’
बाल्यकाल देखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय गिरी सबै नेपालीले नेपालको झन्डालाई छातिभित्र सझाउनुपर्ने भन्दै आएका छन् ।
केही महिनाअघि काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर साक्यले नै राष्ट्रपतिसँग भेटको क्रममा महानगरपालिकाले माइतिघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झन्डा फर्फराएको भनेर गलत ब्रिफिङ गरेको पाइएको छ ।
‘मेरो नेतृत्वमा युवा साथीहरुले गरेको यो अभियानबारे सायद राष्ट्रपतिलाई गलत व्रिफिङ भएछ,’ उनले भने,‘महानगरपालिकाले गरेको होइन हामीले गरेका हौँ ।’
राष्ट्रिय झन्डा किन माइतिघर मन्डलामै राखियो ? यो प्रश्नमा गिरी भन्छन्,‘यो क्षेत्रलाई पहिलेदेखि नै शान्तिबाटिकाको रुपमा घोषणा गरिएको थियो । राष्ट्रिय झन्डा कार्यालय र विद्यालयमा मात्रै सिमित थियो । यसलाई यहाँ राख्दा नेपाल र त्यसको राजधानीको केन्द्र विन्दुले साझा अपनत्व लिन्छ,’ उनले भने, ‘यसको तौल साँढे ८ केजीदेखि १० केजीसम्म छ । लागत सबैगरेर २२ देखि २५ लाख रुपैयाँ खर्च भइसकेको छ ।’
गिरीको एकल प्रयासमा पोल उठाइएको उनी निकटहरु बताउँछन् ।