अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना !

दियो पोस्ट  


  • खिम अर्जुन

‘श्रम अनि श्रमिकको शताब्दि’को रुपमा चिनिने १९ औं शताब्दीको सन् १८८६ मे ४ तारिख अमेरिकाको सिकागोमा भएको ‘हेय मार्केट काण्ड’को सम्झनामा सन् १८९० यताका हरेक मे १ तारिख विश्वभरिका मजदुरहरु द्धारा सान्निध्यताका साथ मनाईने विशाल उत्सवलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस भनियो । यो उत्सव श्रमिकहरुको विशेष अन्तर्राष्ट्रिय दिवस वा महान उत्सवका रुपमा विश्वका ८० भन्दा धेरै राष्ट्रहरुमा मनाईन्छ । ‘८ घण्टा कार्य दिवसिय वातावरण’को माग राखी गरिएको मजदुर आन्दोलनमा एक अज्ञात व्यक्तिले प्रहरी माथी बम प्रहार गर्यो, आन्दोलनकारीले बम बिस्फोट गरेको अभियोगमा प्रहरीको धरपकडबाट सात जना मजदुर आन्दोलनकारीहरुले मृत्युवरण गर्नुपर्यो, आन्दोलन झन् चर्किंदै गयो र अन्ततः आन्दोलनले सफलता पायो ।

श्रमिक जगतमा युगान्तकारी परिवर्तन ल्याएको यो आन्दोलन हुनु पूर्व संसारभरिका मजदुरहरुले दैनिक १६ घण्टा सम्म दास सरह काम गर्दथे । शनिबारको दिन आरामले घरमा बस्दा होस् वा निर्धारित ८ घण्टा कार्यालय समय श्रम गर्दै गर्दा, सन् १८८६ मे ४ को आन्दोलनमा प्राण उत्सर्ग गर्नुभएका निर्दोष श्रमिक शहिदहरुको आततायी घटनाको स्मरण गर्नैपर्दछ, र यी महत्वहरुको पैरवी गर्नका लागी आजको दिन संसारभरि अत्यन्त महत्वपुर्ण छ । ईतिहासले अभिलेखिकरण गरि अध्ययन गर्न सहज बनाएको विगतका श्रमिक आन्दोलन र आजको श्रम दिवस मुलभूत रुपमा राष्ट्र निर्माणका पहरेदार(श्रमजीवी वर्ग)को हक अधिकार रक्षा गर्ने तर्फ केन्द्रित होस् भन्ने अपेक्षा रहन्छ ।

नेपालमा बि.सं. २००४ सालमा विराटनगरमा मजदुर आन्दोलन भयो, ०७ सालको प्रजातन्त्र प्राप्ति संगै मजदुर दिवस मनाउन थालियो भने ०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएसंगै सार्वजनिक बिदा दिने प्रचलन सुरु भएको हो । ०६२/०६३ सालको महान जनआन्दोलन पश्चात् तय गरिएको सामाजिक आर्थिक रुपान्तरणको द्धार हुंदै नेपालको संविधानमै प्रत्याभुत गरिएका उचित श्रम अभ्यास, योगदानमा आधारित सामाजिक सुरक्षा, सामाजिक सुरक्षा कोषको स्थापना, ट्रेड युनियन खोल्न पाउने अधिकार, स्वास्थ्य उपचार र दुर्घटना बीमा जस्ता आम श्रमिक मजदुरहरुको हितमा जारी विशिष्टतम् गर्व गर्न लायक लोक कल्याणकारी कार्यक्रमहरु यथाशक्य चांडो आम श्रमिक मजदुरहरुले प्रत्यक्ष अनुभूत गर्न पाउने गरि कार्यान्वयन हुनुपर्दछ । विद्यमान श्रमसम्बन्ध र शोषणका रुप, आर्थिक – सांस्कृतिक क्षेत्रमा सामन्तवादका अवशेषहरु द्धारा शोषित श्रमअधिकारको पहिचान गरि राज्यमा श्रम शक्तिको बिकास, श्रमजीवि वर्गको वर्चश्व र सामाजिक-आर्थिक रुपान्तरणका माध्यमबाट सामजवादको निर्माण जस्ता श्रमिक अधिकारको व्यवहारिक अर्थ र प्रयोग गरि श्रमशक्तिको बिकास गर्दै देश भित्रै अधिकतम रोजगारिका अवसरहरु सिर्जना गर्नु र श्रमिकहरुलाई अवसर दिनु आजको आवश्यकता हो भन्ने ठान्दछु ।

नेपालीहरुले विश्वका बिभिन्न मुलुकहरुमा गरेको श्रमको विप्रेषणले नेपालको समग्र अर्थतन्त्रलाई टेवा दिएको जगजाहेरै छ । सिप बिनाको श्रम बेवास्ता गर्ने, कृत्रिम औजारद्धारा मानव श्रम विस्थापन गर्ने वर्तमान विश्वका धेरै राष्ट्रहरुमा नेपाली श्रमिकको अवस्था अत्यन्तै जोखिम र दयनिय छ । सरकारले आफ्ना बिभिन्न संयन्त्रहरुबाट श्रम र श्रमिकको क्षेत्रमा सुधारका अथक प्रयासहरु गरेको बताए पनि आम श्रमिक वर्गले त्यो सहजता महशुस गर्न सकेका छैनन् । स्वदेश तथा विदेशमा गरिने सिप र श्रमको व्यवस्थापनमा ख्याल नपुर्याउंदा आम श्रमिकहरुले धेरै सास्ती भोग्नुपरेको छ । नेपाल सरकारले कोरियाको लागि लागु गरेको ईपिएस प्रणालि जस्तै सरकारी तहबाटै श्रम व्यवस्थापन नगरुन्जेल विश्व श्रम बजारमा खर्चिएको नेपालीहरुको श्रमले उचित मूल्य पाउन सक्तैन । यसका निम्ति केहि समय यता नेपाल सरकारको पहलकद्मी सकारात्मक देखिन्छ ।

झण्डै तिन लाख भन्दा बढि नेपालीहरुको श्रम गन्तव्य मध्यपुर्वी खाडी मुलुक युएईमा भने पछिल्लो समयमा सुन तस्करी र हुण्डी जस्ता अवैध धन्दा मत्थर हुन नपाउंदै नेपालका केही कथित वैदेशिक रोजगारदाताहरु गैह्रकानुनी तवरले मानवतस्करका गिरोहका रुपमा अधिपत्य जमाएका छन् । मानवतस्करमा संलग्न त्यस्ता दलालहरुको नाङ्गो चरित्रले आफ्नो स्वाभिमान कायम राखी युएईमा श्रम गर्ने आम नेपाली श्रमिकहरुको शिर झुकाईदिएको छ । नेपाल सरकारको कुटनितिक नियोगबाट यी वेथितिहरुको छानबिन र कार्वाही हुनुको सट्टा बरु दुतावासका आधिकारिक व्यक्तिबाटै कृते काम गरिन्छ, दलालहरु संग सांठगांठ गरि खुलेयाम मानवतस्कर गरिन्छ । यस्ता लुटेराहरुको कर्तुत आम मिडियामा प्रमाण सहित छ्याप छ्याप्ति सार्वजनिक हुंदा पनि नियमनकारी निकाय मौन छ । कार्वाही गर्न कसले रोकेको छ ? दुतावासको निरिहपन र दण्डहिनताको शैलिले कता कता आजको श्रमिक दिवसलाई समेत गिज्याईरहेको आभाष हुन्छ । भ्रष्टाचार बिरुद्ध शून्य सहनशिलता उद्घोष गर्ने सरकारको आधिकारिक निकाय नै किन लाचार छ ? जब नेपाली श्रमिक आफ्नै देशका मानवतस्कर माफियाहरु बाट नै जोगिन गाह्रो छ, दुतावासबाटै चलखेल हुन्छ भने, श्रम क्षेत्रमा अन्यायमा परेका, लुटिएका, ठगिएका श्रमिकहरु न्याय खोज्न कहां जाने ? यी प्रश्नहरुको जवाफ खोज्ने बेला आएको छ ।

विदेशमा होटल भित्र लुकेर भांडा माझ्ने, खाडीको ५४ डिग्री घाममा बेल्चा चलाउने, सयौं तला माथी आफ्नो ज्यान जोखिममा राखि मजदुरी गर्ने, तराईमा रिक्सा चलाउने, उद्योग कलकारखाना तथा यातायात क्षेत्रमा काम गर्ने आम मजदुरवर्ग देखि (कोदालो, बन्चरो र हंसिया)ले हातमा ठेला बसेका, घरमा चुलो/चौकोस, मेला/पाखा गर्ने समग्र श्रमिकहरुको जिवनमा खुशि छाओस् र आफ्नो पसिनाको मूल्यले खुशी बटुल्न सकोस् । ईतिहासका बिभिन्न कालखण्डमा भएका राजनैतिक परिवर्तनले फराकिलो बन्दै गएको श्रमको परिभाषा मूलतः श्रमिकहरुको जनजीवनमा लागु होस् । आजका मूर्धन्य राजनितिकर्मीहरुमा श्रमजीवी वर्गको अधिनायकत्वमा राज्य व्यवस्था खडा गर्ने चेत खुलोस् । संसारभरिका श्रमिकहरुमा अन्तर्राष्ट्रिय श्रम दिवसको हार्दिक शुभकामना ।