एनबी बैंकको कागजात राष्ट्र बैंकले मगायो, २२ करोड घोटलाबाट बच्न मर्जको हल्ला !

दियो पोस्ट  

काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी)ले खरिद गरेको जग्गामा ठूलो घोटला भएपछि कर्तुत लुकाउन बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नयाँ जुक्ति निकालेका छन् । जग्गा घोटलाको विषयमा राष्ट्र बैंकले एनबी बैंकसँग सम्पूर्ण कागजात मगाएको बैंक स्रोतले बताएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेपछि अख्तियारले राष्ट्र बैंकलाई पत्राचार गरेको बुझिएको छ । बैंकले चैतको अन्तिम साता केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित झण्डै ८ रोपनी जग्गा खरिद गरेको थियो ।


बजारमूल्य अनुसार प्रति आना ६० लाख पर्ने उक्त जग्गालाई प्रति आना ७८ लाख ४० हजार रुपैयाँ खरिद गरेर झण्डै २२ करोड रुपैयाँ घोटला गरिएको भन्दै उजुरी परेको थियो । जग्गा घोटलाको छानविनमा तानिन लागेपछि सिइओ ढुंगाना भने बैंक नै छाड्ने रणनीतिमा लागेका छन् ।

विहिबारको युनाइटेड पोस्टमा खबर छ–बंगलादेशको ढाकामा बैशाख ७ गते सञ्चालक समितिको बैठक बसेको थियो । स्रोतका अनुसार बैठकमा बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमद, सञ्चालक इन्द्रबहादुर थापा, कम्पनी सचिव मुकुन्द ढुंगेल, सिइओ ढुंगानालगायत सहभागी थिए । उक्त बैठकमा जग्गा खरिदको विषयमा कुनै एजेण्डा नै थिएन । त्यस्तै एजेन्डाविहिन मर्जको कुरा उठाएर सिइओ ढुंगानाले जग्गा घोटलाको प्रकरणलाई गुपचुप राख्न खोजेका थिए । ढुंगानाले बैठकमा एनबीलाई ग्लोवल आईएमई बैंकसँग मर्ज गर्न प्रस्ताव राखेका थिए ।


तर, सेयरधनीले कुनै दिन जग्गा घोटलाको प्रकरण बाहिर ल्याउने अवस्था आउन सक्ने खतरा देखिन लागेको भन्दै एनबीमा ४१ प्रतिशत लगानी रहेको बंगलादेशको आईएफआईसी बैंकका प्रतिनिधिले मर्जरको कुरा नगर्न ढुंगानालाई सचेत गराएका थिए ।

आईएफआईसी बैंकका प्रतिनिधिले नेपाल सरकारको विदेशी लगानीको नीति अनुसार आफूहरु चल्दै आएको र बैंकलाई मर्जरमा पु¥याएर आफ्नो हैसियत गुम्ने भन्दै आइन्दा यस्ता विषयलाई छलफलमा नल्याउन सिइओ ढुंगानालाई आग्रह गरेका थिए ।


त्यसो त यसअघि होटल सांग्रिलामा एनबी र ग्लोबल आईएमईबीच मर्जको विषयमा छलफल गर्न बसेको बैठकमा ग्लोबल आईमई बैंकका प्रतिनिधिले ठाडै अस्वीकार गरेका थिए । त्यसपछि उक्त छलफल अगाडि बढेको छैन र ग्लोबल आईएमईले समेत कुनै प्रतिक्रिया जनाएको छैन । सिइओ ढुंगानाले मर्जको हल्ला चलाएसँगै बैंकमा डिपोजिटमा समेत कमी आएको बैंकका एक उच्च अधिकारी बताउँछन् । छानविनको दायराबाट बच्न अष्ट्रेलिया जान लागेका सिइओ ढुंगानाले एनबी बैंकको तेस्रो चौमासिक प्रतिवेदन समेत सार्वजनिक गर्न सकेका छैनन् ।