भक्तपुर,वैशाख १९ । भक्तपुर नगरपालिकाले वडा नम्बर १ सल्लाघारीस्थित रानीपोखरीको मौलिक शैलीमै पुनर्निर्माण गर्ने भएको छ। भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले प्राप्त पुराना प्रमाणको आधारमा पोखरी पुनर्निर्माण अघि बढाइएको जानकारी दिए। यो पोखरी सेनाअन्तर्गतको सैनिक आवासीय महाविद्यालय परिसरमा छ।
सैनिक सुरक्षाभित्र रहेकाले पोखरीमा सर्वसाधारणलाई प्रवेश सहज छैन। भग्नावशेष मात्र बाँकी पोखरीका चारै कुनाका डिल बाँकी छन्। पानी छिपछिपे मात्र छ। चारैतिर झारपातले भरिएको पोखरीको सरसफाइ भक्तपुर नगरपालिकाले गर्दै आएको छ।
भक्तपुरका प्रजापति समुदायको देवाली पूजाका कूलदेवतासमेत पोखरी परिसरमा रहेकाले यहाँ बेलामौकामा सरसफाइ हुने गरेको छ तर संरक्षण तथा पुनर्निर्माण गरिएको छैन। नगरपालिकाले काठमाडौंको रानीपोखरी संरक्षणमा सहयोग गरेपछि यहाँको पोखरी पुनर्निर्माण गर्न स्थानीयले दबाब दिन थालेका छन्।
सामाजिक सञ्जालमा ‘आफ्नो आङको भैंसी नदेख्ने भक्तपुर नगरपालिकाले काठमाडौंको जुम्रा देख्यो’ भन्ने टीकाटिप्पणी गरिएका छन्। सामाजिक सञ्जालमा रानीपोखरी सैनिक कब्जाबाट मुक्त गर्न भक्तपुरका जनप्रतिनिधि असफल भएको आरोपसमेत लगाइएको छ।
काठमाडौंको रानीपोखरीभन्दा यहाँको पोखरी ४० वर्ष पुरानो हो। पोखरीमा भेटिएको शिलालेखअनुसार नेपाल संवत् ७५० (विसं. १६८७) मा भक्तपुरका मल्ल राजा जगज्योतिले पोखरी बनाउन लगाएका थिए। पोखरीको बीचमा नागको मूर्ति र ढुंगाका चार खम्बा ठड्याएर शिवलिंग स्थापना गरेको शिलालेखमा उल्लेख छ। काठमाडौंको पोखरी प्रताप मल्लले नेपाल संवत् ७९० (विसं. १७२७) मा बनाउन लगाएका थिए।
प्रताप मल्लले नेपाल संवत् ७८३ मा भक्तपुर आक्रमण गर्दा यो पोखरी र त्यहाँका सम्पदामा क्षति पुर्याएको इतिहासविद् बताउँछन्। यही पोखरीमा मुग्ध भएर उनले काठमाडांैमा रानीपोखरी बनाउन लगाएको दाबी गर्ने पनि प्रसस्त छन्। यस्तो ऐतिहासिक पोखरीको पुनर्निर्माण गर्न नगरपालिकाले नापजाँच गरी भेटिएका प्रमाणका आधारमा नक्सांकन भइरहेको प्रमुख प्रजापतिले जानकारी दिए।
सैनिक आवासीय महाविद्यालय हेर्ने सेनाका प्रमुख प्रतिनिधिमार्फत सेनाभित्र पोखरी पुनर्निर्माणबारे छलफल भइरहेको उनको भनाइ थियो। ‘रानीपोखरी पुनर्निर्माणमा केही प्राविधिक समस्या छन्’, प्रमुख प्रजापतिले भने, ‘तैपनि पोखरीलाई पुनर्जीवन दिने प्रयासमा नगरपालिका अग्रसर रहँदै आएको छ।’
पोखरीको सफाइ
यसैबीच नगरपालिकाले पाक्षिक सरसफाइ अभियानअन्तर्गत आइतबार पोखरीको सरसफाइ गरेको छ। प्रमुख प्रजापतिले स्थानीय चाड देवाली पूजा नजिकिएकाले पोखरी सफा गरिएको जानकारी दिए।
सरसफाइमा नगर प्रमुख प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्ष तथा जनप्रतिनिधिसँगै पोखरी परिसरमा देवाली पूजा गर्ने प्रजापति समुदायको तः गुठी, थिला गुठी, चुकु गुठी, न्हु गुठी, मारी गुठी र ख्वँर्हे गुठीका गुठीयारलगायत सहभागी थिए। पोखरी सफाइमा पुगेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले सम्पदा पुनर्निर्माण र संरक्षणमा अन्यत्रभन्दा भक्तपुरमा व्यवस्थित र उल्लेखनीय भएको बताए। बिहीबारको अन्नपुर्णपोष्टमा खबर छ ।