काठमाडौँ,वैशाख २० । महांकाल गाउँपालिका–६ स्थित ठुलादुर्लुङ गुमराङ आधारभूत विद्यालय भूक्षयको जोखिममा परेको छ । विद्यालयको माथिल्लो भागमा बाटो खनिएका कारण पहिरोको जोखिम छ भने तल्लो भागमा भिर छ । बीचको भागमा पुनर्निर्मित विद्यालय भवन र अस्थायी सिकाइ केन्द्रको टहरो छ ।
विद्यालय भूक्षयको जोखिममा रहेकाले न्यूनीकरणको प्रयास थालिएको प्रधानाध्यापक विदुर दाहालले बताए । ‘भूक्षयको जोखिममा रहेको भवनमा विद्यार्थी पढ्न बाध्य छन्,’ दाहालले भने, ‘भूक्षय रोक्न पर्खाल लगाउने स्रोतको खोजीमा छौँ ।’ भूक्षयको जोखिम न्युनीकरण गर्न करिब १५० मिटरको पर्खाल आवश्यक रहेको दाहाल बताउँछन् ।
पर्खाल लगाउन र कम्पाउन्ड बनाउन स्रोतको व्यवस्थापनमा लागेको वडाध्यक्ष रामकृष्ण आचार्यले बताए । उनले भने, ‘जोखिम न्यूनीकरणमा हामी लागेका छौँ । विद्यालयलाई भूक्षय र विद्यार्थीलाई भिरबाट जोगाउन प्रदेश सरकारलाई घच्घच्याउनेछु ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमण बन्जारेका अनुसार ०७२ को भूकम्पपछि विद्यालय स्थानान्तरण गर्ने प्रयास भए पनि पैसाको अभावमा काम रोकिएको छ ।
‘स्थानान्तरण गरी विद्यार्थी र विद्यालयलाई सुरक्षित बनाउने प्रयास भयो । तर, सबै विद्यार्थीलाई केन्द्र पर्ने उपयुक्त ठाउँमा जग्गा खरिद गर्न पैसाको अभाव भयो । त्यसकारण त्रासमै पठन–पाठन गर्नुपर्ने बाध्यता छ ।’०३६ देखि ०७२ को भूकम्पअघि सालघारी डाँडामा विद्यालय थियो । भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ललितपुरले विद्यालय पुनर्निर्माण गरेको थियो । विद्यालयमा चालू शैक्षिक सत्रमा ९४ विद्यार्थी भर्ना भएका छन् । शुक्रबारको नयाँ पत्रिकामा खबर छ ।