एकतानजिक पुगे फोरम र नयाँ शक्ति

दियो पोस्ट  

काठमाडौँ,वैशाख २० । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच आउँदो सोमबार (२३ वैशाखमा) एकीकरण गर्ने गरी वार्ता अन्तिम चरणमा पुगेको छ । आइतबारसम्म दुवै पार्टीले आफ्ना केन्द्रीय समितिबाट एकतासम्बन्धी निर्णय गर्ने तयारी गरेका छन् । सोमबार संयुक्त केन्द्रीय समिति बैठकबाट एकताको निर्णय गर्ने र लगत्तै औपचारिक घोषणा गर्ने समझदारी छ । 

-२३ वैशाखमा एकीकरण तयारी
– नाम : समाजवादी पार्टी नेपाल 
 -भट्टराई र यादव दुवै अध्यक्ष 
 -६ महिनामा महाधिवेशन

स्रोतका अनुसार एकीकरणपछि पार्टीको नाम समाजवादी पार्टी रहनेछ । नेतृत्व वरीयतामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई वरिष्ठ रहने गरी अध्यक्ष हुनेछन् । फोरम अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको कार्यकारी अध्यक्ष हुने सहमति छ । नयाँ शक्ति नेता नवराज सुवेदीले दुवैजना अध्यक्ष रहने सहमति भएको जानकारी दिए । दुवै दलका पदाधिकारी र केन्द्रीय सदस्य यथावत् रहने र महाधिवेशन आगामी ६ महिनामा सम्पन्न गर्न दुवै पक्ष सहमत छन् । पार्टीले कार्यदिशामा समाजवाद राख्ने भएको छ । 

दुवै नेताको कम्युनिस्ट पृष्ठभूमि


डा. बाबुराम भट्टराई मोहनविक्रम सिंह नेतृत्वको मसाल हुँदै प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा दश वर्ष सशस्त्र युद्धमा थिए ।  भट्टराईले ०७३ वैशाख३० गते आफ्नै नेतृत्वमा नयाँ शक्ति गठन गरे । अहिले भने परम्परागत कम्युनिस्ट विचारबाट देश समृद्ध हुन नसक्ने उनको धारणा छ । पुष्पलाल श्रेष्ठ समूहबाट राजनीतिमा आएका यादव ०४७ सालमा माले–माक्र्सवादी एकतापछि एमालेमा सक्रिय भए ।

उनी एमालेबाट ०४८ को संसदीय निर्वाचनमा  सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस नेता विजय गच्छदारबाट पराजित भए । ०५४ सालमा मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्था स्थापना गरे । मधेस आन्दोलनसँगै फोरमलाई उनले पार्टीका रूपमा दर्ता गरेर सक्रिय भए । तीनपटक मधेस आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेका यादव आफूलाई सामाजिक लोकतन्त्रवादी भन्न रुचाउँछन् ।

राजनीतिक उतारचढाव 
डा.भट्टराई

  1.  ०३९ सालमा कम्युनिस्ट पार्टी सदस्यता । मोहनविक्रम सिंह नेतृत्वको नेकपा चौममा आबद्ध भई राजनीति सुरु । 
  2. ०४८ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल छाडी तत्कालीन एकताकेन्द्रसँग एकीकरण । 
  3. ०५२ देखि सञ्चालित माओवादी जनयुद्धमा शीर्ष तहको नेतृत्वमा । 
  4.  ०६४ मा पहिलो संविधानसभामा गोरखा क्षेत्र नम्बर २ बाट विजयी 
  5. ०६५ सालदेखि एकीकृत माओवादीको उपाध्यक्ष
  6.  ०६५ सालमा प्रचण्ड प्रधानमन्त्रीत्वको सरकारमा अर्थमन्त्री 
  7.  ०६८ असोज १२ गतेदेखि ०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री 
  8.  ३ असोज ०७२ मा संविधान जारी भएपछि ९ असोजमा एमाओवादी र संसद् सदस्य पदत्याग ।
  9. -३० जेठ ०७३ मा नयाँ शक्ति पार्टी गठन ।
  10.  ०७४ मंसिर प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित

यादव

  1.  ०४७मा मालेसँग नेकपा माक्र्सवादी     एकतापछि एमालेमा
  2.  ०४८को निर्वाचनमा सुनसरी ४ बाट विजय गच्छादारसँग पराजित 
  3.  ०५४ देखि  मधेसी जनअधिकार फोरम स्थापना
  4.  ०६४  माघ २ मा अन्तरिम संविधान जलाएर आन्दोलन घोषणा 
  5.  ०६४ पहिलो संविधान सभामा मोरङ ५  र सुनसरी ५ बाट निर्वाचित 
  6.  ०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री 
  7.  ०७० सुनसरी क्षेत्र नम्बर ५ बाट निर्वाचित
  8.  ०६७ झलनाथ खनाल नेतृत्वको सरकारमा उप्रधानसहित परराष्ट्रमन्त्री 
  9. ०७४ मा प्रतिनिधिसभामा सप्तरी २ बाट निर्वाचत 
  10.  ०७४ यता (हाल) उपप्रधान तथा स्वास्थ्यमन्त्री

पार्टी एकता टुंगिएमा फोरमले २८ वैशाखदेखि तोकेको महाधिवेशन स्थगित गर्ने सहमति 

यस्तो छ  एकीकरण तयारी

‘वैशाख २३ गते ११ बजे नयाँ शक्ति र हाम्रो पार्टीको संयुक्त केन्द्रीय समिति बैठक बोलाएको छ,’ फोरमका एक केन्द्रीय नेताले नयाँ पत्रिकासँग भने, ‘केन्द्रीय समितिले औपचारिक निर्णय गर्ने र घोषणा सभा गर्ने समयतालिका तय भएको छ ।’ उनका अनुसार एकताबारे निर्णय गर्न फोरमले शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ । नयाँ शक्तिले भने शुक्रबार संघीय परिषद्को बैठक डाकेको छ । उसले शनिबार महाधिवेशन आयोजक समिति बैठक बोलाएको नेता देवेन्द्र पराजुलीले जानकारी दिए । 

एकता वार्तामा फोरमबाट अशोक राई, राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङ छन् । नयाँ शक्तिबाट नवराज सुवेदी, परशुराम खापुङ, गंगानारायण श्रेष्ठलगायतले गृहकार्य गरिरहेका छन् । नयाँ शक्तिका नेता सुवेदीले पार्टी एकताबारे टुंगो लागिसकेको तर केही विषयमा अझै वार्ता भइरहेको बताए । ‘हामीले एकताका धेरै विषय टुंग्याइसक्यौँ,’ सुवेदीले भने, ‘बाँकी विषय अध्यक्षद्वयको जिम्मामा छाडेका छौँ ।’ पार्टी एकता टुंगिएमा फोरमले २८ वैशाखदेखि तोकेको महाधिवेशन स्थगित गर्ने सहमति छ । 

फोरम सरकारबाट बाहिरिन सक्ने

दुई पार्टी एक भए फोरम सरकारबाट बाहिरिन सक्ने नयाँ शक्ति नेता सुवेदीले बताए । नयाँ शक्तिले सुरुमै फोरम सरकारबाट बाहिरनुपर्ने अडान राखेको थियो । समयसीमा तोकेर सरकारसँग माग पूरा गर्न दबाब दिने र पछि सरकार छाडेर आन्दोलनमा जानेबारे भट्टराई र यादवबीच भद्र सहमति भएको निकटस्थ नेताहरूले बताए । 

प्रतिनिधिसभामा फोरमको १६ सदस्य छन् भने प्रदेश सभामा २९ सदस्य छन् । यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । फोरमबाटै मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री छन् । नयाँ शक्तिबाट भने भट्टराई मात्रै प्रतिनिधिसभामा छन् । प्रदेश ३ संसद्मा नयाँ शक्तिका २ सदस्य छन् । 

राजपा र जनमुक्ति पार्टीसँग पनि छलफल

एकताबारे नयाँ शक्ति संयोजक भट्टराईले बिहीबार राजपा र जनमुक्ति पार्टीसँग पनि छलफल गरेका छन् । नयाँ शक्ति कार्यालय बबरमहलमा राजपा अध्यक्षमण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमुक्ति पार्टीका नेता छलफलमा सहभागी थिए ।
‘हामीले सरकारबाहिर भएका विभिन्न शक्तिसँग एकताका लागि छलफल गरेका छौँ,’ भट्टराईले भने, ‘एकता कसैसँग पनि टुंगिएको छैन । वातावरण भने सकारात्मक बन्दै गएको छ ।’

गत वर्ष हुन  नसकेको एकता

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि भट्टराईले फोरमसँग एकता प्रस्ताव गरेका थिए ।  यादव र भट्टराई दुवैले अध्यक्षमा दाबी गरेपछि एकता हुन नसकेको नेताहरूको भनाइ छ । अघिल्लो वर्ष नयाँ शक्तिमा रहेको पूर्वमाओवादी समूह र फोरममा नेता राजेन्द्र श्रेष्ठलगायत समूह एकताका पक्षमा नदेखिएको बताइन्थ्यो । अहिले भने श्रेष्ठलगायतकै समूहले एकताको सूत्रधारको काम गरेको नेताहरू बताउँछन् । शुक्रबारको नयाँ पत्रिकामा खबर छ ।