कन्हैया कुमार: भारतका एक विद्यार्थी नेता कसरी बने मोदीविरुद्धका प्रतीक

कन्हैया कुमार: भारतका एक विद्यार्थी नेता कसरी बने मोदीविरुद्धका प्रतीक

भारतको सबभन्दा गरिबमध्येको राज्यको एक जिल्लाले जारी निर्वाचनमा राष्ट्रिय समाचारपत्रका मुख्य समाचारमा छाउने मौका पाएको छ।

कारण हो त्यहाँबाट एक प्रखर वक्ता विद्यार्थी नेताले चुनाव लड्दैछन्।

भारतविरुद्ध नारा लगाएको भन्दै कन्हैया कुमारलाई ‘देशद्रोह’ को आरोपमा सन् २०१६ मा केही साता जेल हालिएको थियो।

अहिले उनी बिहारको बेगुसरायबाट चुनावमा उठेका छन्। त्यहाँ गत सोमवार मतदान भयो।

बिहारको बिहाट गाउँमा एक बिहान सबेरै उनी घरबाट बाहिर निस्कँदा तत्काल उनी वरपर युवा झुम्मिए।

उनीसँग हात मिलाउन र सेल्फी फोटो खिच्न उनकै तस्बिर अंकित टि शर्ट लगाएका युवाको भिड लाग्यो।

यहीँ जन्मेर हुर्किएका कुमार सन् २०१६ मा देशद्रोहको आरोपमा जेल परेपछि चर्चित भए।

त्यतिखेर दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका (जेएनयु) विद्यार्थी नेता कन्हैया कुमारलाई सन् २००१ मा भारतीय संसदमा हमला गरेकोमा दोषी पाइएका एक कश्मीरी व्यक्ति मोहम्मद अफजल गुरुलाई मृत्युदण्ड दिइएको वार्षिकीमा क्याम्पसमा आयोजित कार्यक्रममा भारत विरोधी नारा लगाएको आरोप लागेको थियो।

उनको पक्राउले सत्ताधारी भारतीय जनता पार्टी भाजपाको हिन्दू राष्ट्रवादी राजनीतिका आलोचकहरूलाई एक साझा एजेन्डा प्रदान गरेको थियो र देशभर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए।

भारत ब्रिटेनको उपनिवेश रहेको बेला देखि विद्यमान एउटा कानुन बमोजिम उनलाई लगाइएको देशद्रोहको आरोप उनी अझै झेलिरहेका छन्। उनले ती आरोपलाई पूर्ण असत्य प्रचारबाजी भन्ने गरेका छन्।

“प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधित्व गर्ने राजनीति विरुद्ध कन्हैया कुमार एक प्रतीक बनेका छन्,” सेन्टर फर डिभेलपिङ स्टडिजका निर्देशक सन्जय कुमारले बताए।

त्यसयता कुमारले विश्वविद्यालयबाट विद्यावारिधी गरिसकेका छन्।

सोमवार उनले राजनीतिमा पनि पहिलो कदम चाले जब उनले चौथो चरणमा भएको चुनावमा बेगुसराय क्षेत्रबाट चुनाव लडे।

कन्हैया कुमार

चुनावको नतीजा मे को अन्तिम सातातिर मात्र आउनेछ।

उक्त क्षेत्र कम्युनिस्टहरूको प्रभाव क्षेत्र भएकाले एक ताका ‘बिहारको लेनिनग्राद’ भनेर समेत चिनिन्थ्यो।

“राजनीतिमा लाग्नु मेरो निम्ति छनोटको विषय थिएन। यो त बाध्यात्मक जिम्मेवारी भयो,” आफ्नो क्षेत्रमा मतदान अघि कुमारले भनेका थिए।

उनी भारतीय कम्युनिस्ट पार्टी सीपीआईका उम्मेदवार हुन् जुन पार्टीले केही वर्षयता लगातार आफ्नो प्रभाव गुमाउँदै गइरहेको छ।

“हाम्रो संविधानले धर्म निरपेक्ष राज्यको कुरा गर्छ। यदी उनीहरूले कुनै खास धर्मलाई उचालेर राज्यको स्वरूप बदल्न खोज्छन् भने त्यसको विरोध हामी निश्चित रूपमा गर्नेछौँ।”

आउने दिन राम्रा हुनेछन् भन्ने वाचा गर्दै सन् २०१४ को चुनावमा मोदीले जितेका थिए। तर ग्रामीण भेगका कैयौँ भारतीयहरू बढ्दो बेरोजगारी तथा कृषिक्षेत्रमा आइपरेको संकटले निराश भएका छन्।

मोदी तथा भाजपाका अन्य नेताहरू साम्प्रदायिक तथा भड्काउपूर्ण अभिव्यक्ति दिएको र बढ्दो धार्मिक हिंसाप्रति मुकदर्शक बनेकोमा आलोचित छन्।

मुख्य विपक्षी दल कंग्रेसल मोदीको विरोधमा बलियो चुनौती दिन संघर्ष गरिरहेको छ। केही राज्यमा गत वर्ष भएका चुनावमा भने उसले केही जित हासिल गरेको थियो।

भारतको तेस्रो धेरै जनसङ्ख्या भएको राज्य बिहारले भारतको तल्लो सदन लोकसभाको कूल ५४५ मध्ये ४० सदस्य निर्वाचित गर्छ। सन् २०१४ को आमचुनावमा ती ४० मध्ये २२ सिट भाजपाले जितेको थियो।

सोमवारको निर्वाचनमा कुमारले भाजपाका गिरीराज सिंहसँग लड्दैछन्। सिंह उनै नेता हुन् जसले एकताका मोदीको विरोध गर्ने जत्ति सबै पाकिस्तान जाउन् भनेका थिए। सो क्षेत्रमा राष्ट्रिय जनता दलले पनि एक मुसलमान उम्मेदवारलाई उठाएको छ।

“अचेल मानिसहरूका वास्तविक मुद्दा छलफलका एजेन्डाबाट हराएका छन्,” कुमारले भने।

आफ्ना भाषणमा शिक्षा, रोजगारी, सार्वजनिक स्वास्थ्यसेवा तथा अल्पसङ्ख्यकका अधिकारलाई जोड दिने गरेकोमा उनी चिनिन्छन्।

उनले नागरिक अधिकारवादी, अभियानकर्मी तथा चर्चित व्यक्तिहरूको समर्थन पाएका छन्।

साथै सामाजिक सञ्जालमा रहेको उनको बलियो उपस्थितिका कारण उनी युवामाझ लोकप्रिय छन्। उनको करिश्मापूर्ण व्यक्तित्व, प्रखर भाषण गर्ने शैली तथा स्थानीय सम्बन्धका कारण धेरै युवा उनीप्रति आकर्षित देखिन्छन्।

युवासँग सम्बन्ध

उनका भाषणका भिडिओ – जसमा उनी बारम्बार भाजपा र उसको दक्षिणपन्थी राजनीतिको खोइरो खन्छन् – हरूलाई युट्युब तथा फेसबुकमा दशौँ लाखले हेरेका छन्।

“कन्हैयाको सोचाइ हामी युवासँग मिल्दोजुल्दो छ,” २४ वर्षीय पंकज कुमारले बताए। उनको भाषण प्राय: जसो आफूले ह्वाट्सएपमार्फत् साथीहरूसँग ‘शेयर’ गर्ने गरेको पंकजले बताए।

कन्हैया कुमार

“यदी कन्हैयाले जितेमा कमसेकम हामीलाई गौरव बोध हुनेछ। उनकै कारण भारत र पूरै विश्वमा वेगुसराय चर्चित भएको छ।”

कुमारका भाषणहरूले उल्लेखनीय सङ्ख्यामा मुसलमान मतदाताको पनि ध्यान खिचेको छ। सो जिल्लाका कैयौँ त्यस्ता मतदाता उनका बलिया समर्थक छन्।

“यो देशमा शक्तिशाली व्यक्तिहरू केवल धार्मिक विभाजन निर्माणबारे सोचिरहेका छन्,” मोहम्मद शोएब आलमले भने।

“कन्हैयाले गरिब मानिसका मुद्दाका निम्ति आवाज उठाउनेछन्,” उनले भने।

उनको लोकप्रियताका कारण उक्त ग्रामीण निर्वाचन क्षेत्रले राष्ट्रिय ध्यान खिचेको भए पनि उनको जित भने पटक्कै निश्चित छैन।

“यसो हेर्दाखेरि उनको चारैतिर चुनौती छ,” सेन्टर फर पोलिसी रिसर्च संस्थाका निलन्जन सर्कारले बताए। कुनै ठूलो दल वा गठबन्धन वा कुनै समुदायको एकमुष्ट मत जस्ता बलिया आधार उनको पक्षमा नभएको सर्कारले थपे।

“तर यदी उनले जिते भने – उनी स्थानीय तहमा निकै लोकप्रिय छन् – त्यो जित व्यक्तिगत राजनीतिक दक्षताको प्रमाण हुनेछ।”
नेहा थिरानी बाग्री/विविसीबाट

Trending News