दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

दियो पोस्ट  

१०ः३० बजेपछि करिब पाँच घन्टा सेवा अवरुद्ध

काठमाडौँ,वैशाख २३ । आइतबार दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप-यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ ।


त्यसो त चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमण प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए । उनका अनुसार निरन्तर आक्रमणकै कारण सरकारी वेबसाइटमा समस्या आएको हो । ‘आक्रमण रोक्न हामीले लगातार प्रयास ग-यौँ । तर, छिनछिनमा हुने आक्रमणले सबै सरकारी वेबसाइट एकसाथ बन्द हुन पुगे,’ उनले भने, ‘डाटा सेन्टरमा सुरक्षा प्रणालीका रूपमा डिजिओएस हार्डवेयर र उच्च क्षमताको सर्भर प्रयोग गरिएको छ । त्यसका बाबजुद वेबसाइटमा आक्रमणकारीले एकैपटक ठूलो मात्रामा ट्राफिक पठाउँदा थेग्न नसकेपछि सर्भर डाउन भएको हो ।’केही दिनयता सरकारी वेबसाइट छिनछिनमा बन्द हुने समस्या देखिएको थियो । आइतबार १०ः३० बजेपछि करिब पाँच घन्टा सरकारी वेबसाइट पूरै बन्द रहे । 

‘कहिलेकाहीँ फेसबुक पनि रोकिन्छ । यस किसिमको जोखिम आउँछ भनेर सचेत रहने विषय हो,’ सहायक निर्देशक पोखरेलले भने, ‘हामी अहिले समस्याको छिद्र पहिल्याइरहेका छौँ । आगामी दिनमा यस किसिमको आक्रमण आउन नदिने प्रयासमा जुटिरहेका छौँ । सम्भवत अब यो हदसम्मको समस्या बेहोर्नुपर्ने छैन ।’ केन्द्रको अनुसन्धानमा चिनियाँ भूमिबाट साइबर हमला भएको देखिएको छ ।

कोरिया सरकारको सहयोगमा हेटौँडामा ब्याकअपको रूपमा छुट्टै डाटा सेन्टर छ । सरकारले त्यो डाटा सेन्टर यसै महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हेटौँडाको डाटा सेन्टर सञ्चालनमा आए यस किसिमका आक्रमण हुँदा विकल्प तयार रहनेछ । 
साइबर सुरक्षाको क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता सचिन ठकुरी सरकारी वेबसाइटमा पुराना तथा अवधि सकिएका सफ्टवेयर प्रयोग भएका कारण यस्तो समस्या आउने गरेको बताउँछन् । ‘ब्याकअपका रूपमा सर्भरको व्यवस्थापन गर्न सकिएको भए यस्ता आक्रमण आएको अवस्थामा छोटो समयमै समस्या समाधान गर्न सकिने थियो,’ उनी भन्छन् । 

वैदेशिक रोजगारीसम्बन्धी सबैजसो सेवा प्रभावित भए
भीष्मकुमार भुसाल
महानिर्देशक, वैदेशिक रोजगार विभाग

अप्रत्याशित रूपमा आइतबार दिनभरजसो सर्भर डाउन हुँदा वैदेशिक रोजगारीमा जान टिकट लिएका कामदारलाई समस्या परेको छ । तर, आइतबार नै जान बाध्य कामदारको संख्या थोरै भएकाले कार्यालय समयभन्दा पछाडि समेत श्रम स्वीकृतिको काम गरिरहेका छौँ । वैदेशिक रोजगारीसम्बन्धी सबैजसो सेवा अनलाइन प्रणालीमै रहेकाले गुनासो दर्ता गर्नेदेखि मागपत्र प्रमाणीकरणसम्मका सेवा प्रभावित भए । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली विभिन्न निकायको अनलाइन प्रणालीसँग अन्तरआबद्ध भएकाले सूचना आदानप्रदानमा समेत समस्या झेल्नुप-यो । 

दर्तादेखि भुक्तानीसम्मका सेवामा समस्या भयो
यज्ञप्रसाद ढुंगेल
उपमहानिर्देशक, आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व विभागअन्तर्गतका दर्तादेखि भुक्तानीसम्मका सबै सेवा अनलाइन प्रणालीमा छन् । सेवाग्राहीले आफ्नो विवरणसमेत अनलाइनमै हेर्न मिल्छ । दिनभरजसो सर्भरमा समस्या आउँदा सेवा प्रभावित भयो । कार्यालयमा सम्पर्क राख्ने केही सेवाग्राहीलाई आइपीको माध्यमबाट सेवा लिन आग्रह गरेका थियौँ । छोटो समयका लागि समस्या आउने गरेको भए पनि यति लामो समयसम्म सेवा प्रभावित भएको यो नै पहिलोपटक हो । यस किसिमको समस्याको विकल्पका विषयमा समेत हामीले सोच्नुपर्ने भएको छ ।

 सर्भरमा समस्या आउँदा कागजी प्रक्रियामै जानुप-यो
रामकाजी खड्का
महानिर्देशक, राहदानी विभाग

राहदानीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरिएको छ । तर, सर्भरमा समस्या आएपछि हतारो भएकालाई कागजी प्रक्रियाबाट फारम भर्न लगाएका छाैँ । बाँकीलाई भने भोलि आउन भनेका छौँ । यस्तो समस्या यसअगाडि बेहोर्नुपरेको थिएन । 

सोमबारको नयाँ पत्रिकामा खबर छ ।