काठमाडौँ,वैशाख २३ । संसद्मा आगामी आर्थिक वर्ष ०७६/७७ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । सत्तारुढ दलका सांसदले नै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङले नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या रहेको बताए । ‘नीति तथा कार्यक्रम मूल रूपमा सही नै छ, तर कार्यान्वयनमा समस्या छ । कार्यान्वयनको पाटोमा ध्यान दिन नसके कार्यक्रम फितलो हुन सक्छ,’ उनले भने ।
नेकपाका सांसद अग्नि सापकोटाले सरकार लाचार देखिएको बताए । उनले भ्रष्टाचार व्याप्त रहेको भन्दै जग्गा हडप्ने गिरोह जहाँतहीँ सक्रिय रहेको बताए । ‘खुलामञ्च, बालुवाटार, तारागाउँ, पोखरा, जनकपुर जताततै भ्रष्टाचार छ । जग्गा हडपिएको छ,’ उनले भने, ‘एनसेलको करसम्बन्धी विषय सामान्य षड्यन्त्र होइन । सरकार कमजोर छ । लाचार छ ।’
नेकपाकै सांसद गजेन्द्रबहादुर महतले कर्णालीको कष्ट सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको बताए । ‘हामी खरदार खोजिरहेका हुन्छौँ । तपाईंहरू रोजीरोजी मन्त्रालय सचिव छान्नुहुन्छ । ठूला विमानस्थलको कुरा गर्नुहुन्छ,’ उनले भने, ‘ठूला विमानस्थल पनि बन्नुपर्छ, तर कर्णालीलाई पनि सम्बोधन गर्नुप-यो । कर्णाली हिँडेको चामल, नुन, औषधि बाटोबाटै बिक्री हुन्छ ।’
विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो वर्षजस्तै यो वर्ष पनि सरकारको नीति तथा कार्यक्रमले कुनै नतिजा नदिने ठोकुवा गरे । आफ्नो नेतृत्वको सरकारमा सुरुवात भएका धेरैजसो कामको जस केपी ओली नेतृत्वको सरकारले लिइरहेको भन्दै देउवाले सरकारको गति र शैलीबाट जनताले ठगिएको महसुस गरिरहेको बताए । ‘बिमस्टेक सम्मेलन, होली वाइन, भेनेजुएला काण्डजस्ताले परराष्ट्र–नीति कमजोर बनाएको छ,’ देउवाले भने ।
कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले कम्युनिस्टको सरकारले गणतन्त्र जोगाउनेमा जनताको मनमा शंका उत्पन्न भएको बताए । ‘नीति तथा कार्यक्रममा रेल र पानीजहाजले नपुगेर सुरुङमार्ग निर्माण तथा खानी उत्खननको विषय ठोकेको छ । हुम्ला र डोल्पामा सडक पुगेको छैन,’ नेता रिजालले भने । त्यस्तै कांग्रेस सांसद डिला संग्रौलाले नीति तथा कार्यक्रम बतासे आश्वासनले भरिएको हावादारी सपनाको थुप्रो भएको आरोप लगाइन् ।
कर्णाली हिँडेको नुन–चामल बाटोमै बिक्री भइरहेको छ गजेन्द्र महत, नेकपा नेता
‘मेरो सरकार’मा सत्तापक्ष र विपक्षीको घम्साघम्सी
आइतबारको संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्ष सरकारको नीति तथा कार्यक्रममा भन्दा राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ वाक्यांशमाथिको बहसमा केन्द्रित भए । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसद्मा बोलेको यो पदावलीलाई विपक्षी दलका सांसदले संघीयता र गणतान्त्रिक व्यवस्थामाथिकै खतराका रूपमा चित्रण गरेका छन् ।
प्रमुख विपक्षी दल कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छलफलको प्रारम्भमै सरकारको तीव्र आलोचना गरे । ‘राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाइयो,’ देउवाले भने, ‘राष्ट्रपतिजस्तो संस्थालाई सरकारले विवादमा ल्यायो ।’
राष्ट्रपतिले प्रयोग गरेको वाक्यांशबारे सत्तापक्ष र प्रतिपक्षी सांसदले झन्डै ६ घन्टा बहस गरे ।
कांग्रेस सांसद पार्वता डिसी चौधरीले ‘मेरो सरकार’ भनिएको विषयमा आमजनता विरोधमा रहेकाले गरिमामय संस्थालाई विवादित नबनाउन सरकारलाई सुझाब दिइन् । सत्तारुढ नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सांसदहरू पदम गिरी, नवराज सिलवाल, महेश बस्नेतलगायतले भने शब्दावलीमा अल्झिनभन्दा नीति तथा कार्यक्रमप्रति ठोस सुझाब दिन आग्रह गरे । ‘कस्तो शब्द प्रयोग गर्ने भन्ने बहस हुन सक्ला, तर भाषाशैलीकै विषयलाई लिएर गणतन्त्रमाथि नै प्रश्न उठाउनु घोर अन्याय हुन्छ,’ नेकपाका प्रमुख सचेतक गुरुङले भने, त्यसकारण त्यहाँसम्म छलफलमा नजाऔँ ।’
नेकपाका सांसद पदम गिरीले दुनियाँको अभ्यास हेर्न विपक्षी दलका सांसदलाई आग्रह गरे । ‘विपक्षी दलले नीति तथा कार्यक्रममा यो विषय छुट्यो र जनताले लाभ लिन नसक्ने भए भनेर संशोधन हाल्ने हो कि भाषाको विषयमा संशोधन हाल्ने हो ?’ उनले प्रश्न गरे, ‘दुनियाँको अभ्यास के हो भन्ने कुरा प्रतिपक्षी दलका मित्रले हेर्नुपर्छ कि पर्दैन ?’ नेकपाकै नरबहादुर धामी, प्रेम आले, घनश्याम खतिवडा, नारायणप्रसाद मरासिनीलगायतले सरकारको समृद्ध मुलुक बनाउने अभियानमा कांग्रेसले केही शब्दलाई लिएर किचलो गरेको आरोप लगाए ।
जग्गा हडप्ने गिरोह सक्रिय छन्, सरकार लाचार छ अग्नि सापकोटा, नेकपा नेता
राजेन्द्र महतो भन्छन् : शाही सम्बोधनको झल्को आयो
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति भण्डारीले शाही सम्बोधनको झल्को दिएको राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए । ‘शाही सम्बोधनको शैलीमा नीति तथा कार्यक्रम आयो । श्री ५ को सरकार हुँदा मेरो सरकार भनिन्थ्यो । अहिले फेरि भनियो,’ उनले भने । नेता महतोले संविधानमा विमति छैन भनेर सरकारले झुटको खेती गरेको बताए । सरकारलाई व्यंग्य गर्दै महतोले भने, ‘नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको हो कि ? संविधानमा विमति छैन रे ? कहिलेबाट विमति भएन ? भाङ खाएर लेखिएको हो र ?’ सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सोमबारसमेत चल्ने सभामुख कृष्णबहादुर महराले बताए ।
संसद्मा देउवाको आक्रोश– राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा बोल्न लगाइयो
यो सरकारले सम्मानित राष्ट्रपतिको संस्थालाई पटक–पटक विवादमा तान्दै आएको छ । बेलायतकी महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन । सरकारको काम गर्ने गति र शैलीबाट जनताले ठगिएको महसुस गरेका छन् ।
मेरो नेतृत्वको सरकारले युवा वैज्ञानिकलाई प्रोत्साहन दिन नानोस्याटेलाइट परियोजना सुरु गरेको थियो । यो सरकार आफैँले नेपाललाई अन्तरक्षिमा पु-याएको बकम्फुसे दाबी गरेको छ । भेरी–बबई डाइभर्सन पनि मेरो नेतृत्वको सरकारकै पालामा सुरु भएको थियो । बिमस्टेक सम्मेलन, होली वाइन, भेनेजुएला काण्डजस्ताले परराष्ट्र–नीति कमजोर बनाएको छ ।
एक वर्षको नीति र कार्यक्रमहरू भनिएको छ, तर यहाँ दुई वर्षका, चार वर्षका, पच्चीस वर्षका वा वर्षै नतोकिएका कार्यक्रमहरूको बाहुल्य छ । छिमेकी देशसँग रेल, सडक, हवाईमार्ग आयोजना लहडमा होइन प्राथमिकता र प्रतिफलका आधारमा छनोट गर्नुपर्छ । चीन र भारत जोड्ने रेलमार्ग दुवै देशका लागि महत्वपूर्ण छ । त्यसैले अनुदानमा मात्र हुनुपर्छ ।
राजपा नेता राजेन्द्र महतोको प्रश्न– नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको हो कि भाङ खाएर ?
राष्ट्रपतिबाट शाही सम्बोधनको शैलीमा नीति तथा कार्यक्रम आयो । श्री ५ को सरकार हुँदा मेरो सरकार भनिन्थ्यो । अहिले फेरि भनियो । नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको हो कि ? संविधानमा विमति छैन रे । कहिलेबाट विमति भएन ? भाङ खाएर लेखिएको हो र ?’
सोमबारको नयाँ पत्रिकामा खबर छ ।