एनबी बैंकको आर्थिक अपराधमा गभर्नरको मिलेमतो !

एनबी बैंकको आर्थिक अपराधमा गभर्नरको मिलेमतो !

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले खरिद गरेको जग्गा घोटलाको प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै नियमन निकाय राष्ट्र बैंकसम्म पुगेको छ । लगानीकर्ताको तर्फबाट योगेश्वर माली नामका व्यक्तिले दुबै निकायमा बैशाख २५ गते उजुरी दर्ता गराएका हुन् । यस अघि पनि पटक–पटक राष्ट्र बैंकमा उजुरी परिसक्दा समेत गभर्नर चिरञ्जीवी नेपालले उजुरीलाई छानविन गर्न नदिएको राष्ट्र बैंक स्रोत बताउँछ । विहिबारको युनाईटेड पोस्ट साप्ताहिकमा खबर छ ।


बैंकले चैतको अन्तिम साता केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित झण्डै ८ रोपनी जग्गा खरिद गरेको थियो । बजारमूल्य अनुसार प्रति आना ६० लाख पर्ने उक्त जग्गालाई प्रति आना ७८ लाख ४० हजार रुपैयाँ खरिद गरेर झण्डै २२ करोड रुपैयाँ घोटला गरिएको भन्दै मालीले उजुरी दर्ता गराएका हुन् ।
जग्गा घोटला प्रकरणमा बैंकका प्रम्ख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंक सञ्चालक समितिका अध्यक्ष बंगलादेशी नागरिक जलाल अहमद, सञ्चालक इन्द्रबहादुर थापा, कम्पनी सचिव मुकुन्द ढुंगेललगायत छानविनको दायरामा तानिने भएका छन् । झण्डै एक अर्बमा उक्त जग्गा खरिद गर्ने निर्णय गरी पैसा समेत निकासी भइसक्दा पनि सञ्चालक समितिबाट भने निर्णय पास भएको छैन । जुन सरासर गलत र गैरकानुनी रहेको सञ्चालक दिपक कार्की बताउँछन् ।
जग्गा खरिद गरिसकेपछि दुई पटक सञ्चालक समितिको बैठक बस्दा समेत एक अर्बको फाइललाई अहिलेसम्म पनि बोर्डमा पेश नभएको हुँदा सिइओ ढुंगाना र अध्यक्ष अहमदले ठूलो बद्मासी गरेको प्रष्ट देखिन्छ । सेयरधनीले कुनै दिन जग्गा घोटलाको प्रकरण बाहिर ल्याउने अवस्था आउन सक्ने खतरा देखिन लागेको भन्दै कार्कीले अहिलेसम्म पनि बोर्डले उक्त कुरा बाहिर नल्याएको हुँदा त्यसमा आफ्नो असहमति रहेको बताए ।


एनबीमा ४१ प्रतिशत लगानी रहेको बंगलादेशको आईएफआईसी बैंकबाट प्रतिनिधित्व गर्ने अहमदलाई निश्चित कमिसन बुझाएर सिइओ ढुंगानाले हतारमा बैंकलाई झण्डै २५ करोड घाटा हुनेगरी उक्त जग्गा खरिद गराएको उजुरीमा उल्लेख छ । लाखौं बचतकर्ता र लाखौं सेयरधनीहरुको लगानी रहेको बैंकमा झण्डै २५ करोड भन्दा बढिको आर्थिक अनियमितताको कुरा बाहिर आउँदा समेत राष्ट्र बैंकले अहिलेसम्म एक्सन लिन सकेको छैन ।


जग्गा खरिदपछि पटक–पटक गभर्नर नेपाल र बैंकर एशोसियसनका अध्यक्ष समेत रहेका ढुंगानाबीच छलफल भएको बुझिएको छ । गभर्नर नेपाल सिइओ ढुंगानाको प्रभावमा परेका कारण उजुरीलाई अहिलेसम्म छानविनको प्रक्रियामा राखिएको छैन । ढुंगाना राष्ट्र बैंकहुँदै एनबीमा आएको हुँदा उनैले राष्ट्र बैंकमा सेटिङ मिलाई उजुरीलाई छानविन गर्न नदिइएको बैंक स्रोतले बतायो ।
एक अर्बमा जग्गा खरिद गरेर भवन बनाउँदा एकातिर दुई अर्ब भन्दा बढि खर्च हुने अवस्था छ भने अर्कोतिर पूजीँको २५ प्रतिशत भन्दा बढि घरजग्गा खरिदमा खर्च हुने देखिएकाले त्यो सरासर राष्ट्र बैंकको निर्देशन विपरितको काम हो । मुक्तिश्री प्रालिको नाममा रहेको उक्त जग्गाको क्षेत्रफल ७–९–१–३ रहेको छ । सुमार्गीले प्रतिआना ६० लाखमा उक्त जग्गा विक्री गरेपनि ७८ लाख ४० हजारमा कारोबार भएको देखाउँदा करोडौं कमिसनको खेल भएको प्रष्ट देखिन्छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलताको कमी भइरहेको अवस्थामा झण्डै एक अर्बको जग्गा खरिद गर्ने कार्य राष्ट्र बैंकको ऐन विपरित रहेको हो ।

Trending News