बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो

दियो पोस्ट  

काठमाडौं, जेठ ५ । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन् । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ ।’

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए । ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो ।’

अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको भाउ आकासिएको छ । महिनादिनअघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा कालिमाटी बजारमा शनिबार एक सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यही गोलभेडाको दाम काठमाडौंका साना बजार र किराना पसलमा एक सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्छ । त्यस्तै, स्थानीय काउली कालिमाटी बजारमै ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ । एक महिनाअघि यसको मूल्य ५५ रुपैयाँ थियो । भेन्टा, मटरकोसा, हरियो फर्सी, साग, निउरो, ब्रोकाउली, धनियाँलगायतका ताजा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ ।

उपत्यकाको बजारलाई नैकाप, थानकोट, रामकोट, मुलपानी, छम्पीलगायतका क्षेत्रमा टनेल बनाएर गरिने गोलभेडाले माग धान्दै आएको छ । तर, यसपटक यी क्षेत्रमा असिनापानीका कारण उत्पादन घटेको छ । भारतबाट हुने गोलभेडा आयात ३० प्रतिशतले घटेको छ । यतिबेला पाँचखालबाट थोरै गोलभेडा कालीमाटी आइरहेको छ । व्यवसायीका अनुसार टनेलमा लगाएको गोलभेडा बजार आइपुग्न करिब एक महिना लाग्न सक्छ । ‘प्रत्येक भान्सामा पाक्ने गोलभेडा मागअनुसार नपाएपछि बजार भाउ बढेको हो । तर, अहिले विस्तारै आपूर्ति बढ्न थालेकाले भाउ पनि घट्न थालेको छ,’ व्यवसायी घिमिरेले भने ।

खसीको मासुमा किलोकै २०० वृद्धि

खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले भारतबाट नियमित खसी ल्याउन नपाउँदा उपत्यकामा मागअनुसार आपूर्ति गर्न नसकिएको बताए । ‘भन्सार नाकाबाट भारतीय खसी ल्याउन सकिएको छैन । उपत्यकाको मागलाई धान्न व्यवसायीहरू गाउँगाउँ गएर खसी ल्याउँदैछन् । त्यसैले केही लागत बढ्न गएको देखिन्छ,’ उनले भने । जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको उनले बताए । तर, एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ ।

उपत्यकामा प्रतिसाता भारतीयसहित २५ गाडी (६ हजार २ सय ५०) खसीबोका भित्रिने गरेका थिए । ‘कडाइ गरिएपछि समग्रमा झण्डै ५० प्रतिशतले खसीबोकाको आयात घटेको छ,’ पाठकले भने, ‘अवैध रुपमा भारतबाट खसीबोका आइरहेका छन् तर त्यसको तथ्यांक छैन ।’ सरकारले महिना दिन अघिबाट खान योग्य भएको प्रमाणपत्र लिएर मात्र भारतीय खसी आयात गर्न परिपत्र जारी गरेको थियो । तर, भारतीय व्यवसायी र भन्सार कार्यालयले यस्तो प्रमाणपत्र नदिएपछि आयात रोकिएको हो ।

तेल–दाल प्रतिकिलो १०, चामल ५० रुपैयाँ वृद्धि

चामल, दाल, तेललगायत खाद्यपदार्थको मूल्य पनि बढेको छ । थोक व्यवसायी देभेन्द्रभक्त प्रधानका अनुसार भारतबाटै चामलको भाउ बढेर आएको छ । ‘अहिले २५ किलो चामलको भाउ ५० रुपैयाँले बढेको छ,’ उनले भने । दाल प्रतिकिलो १० रुपैयाँसम्म वृद्धि भएको छ । दाल आयात हुने प्रमुख देश बर्माबाटै मूल्य बढेर आएको उनको दाबी छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो समय किराना पसलबाट बढी बिक्री हुने चामल, दाल, चिनी, तेललगायतको मूल्य आकासिन थालेको छ । उनका अनुसार ९० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दाल एक सय पुगेको छ । मासको दाल एक सय १० बाट एक सय २० र ठूलो खालको मासको दाल र रहर दाल एक सय ३० बाट १४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

खुद्रा व्यापार संघका अनुसार जिरा मसिनो (लोकल) चामल ३३ सय प्रतिबोराबाट बढेर ३३ सय ५० पुगेको छ । सोना मन्सुली (सामान्य) १४ सय प्रतिबोराबाट बढेर १४ सय ५० पुगेको छ । खानेतेल प्रतिलिटर १० रुपैयाँ बढेको छ । सूर्यमुखी तेल एक सय ४० बाट एक सय ५० रुपैयाँ पुगेको श्रेष्ठले बताए । ७५ रुपैयाँ प्रतिकिलोमा पाइरहेको चिनी ८० पुगिसकेको छ । भाउ बढ्नुको मनासिब कारण नदेखिएको उनको भनाइ छ । ‘हामीले मूल्य किन बढ्यो भनेर सोधीखोजी गर्दा आयात मूल्य नै बढेको छ भनेर थोक बिक्रेताले बताउने गरेका छन्,’ उनले भने ।

आइतबारबाट मूल्यवृद्धिको अनुमगन गर्छौँ : योगेन्द्र गौचन, महानिर्देशक,
आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

ताजा तरकारीको भाउ अकासिएको विषयमा विभागले अनुगमन प्रक्रिया अघि बढाइसकेको छ । आइतबार दिउँसो कालिमाटी बजारका थोक व्यवसायीलाई किन भाउ बढेको हो भन्ने विषयमा जानकारी लिन बोलाएका छौँ । बिचौलियाका कारण भाउ बढेको हो वा कुनै मनासिब कारण छ भन्ने विषयमा हामी निक्र्र्योलमा चाँडै पुग्छौँ । किसान र संकलन केन्द्रको भाउ कस्तो छ भनेर अनुगमन गर्ने तालिका बनाइसकेका छौँ । खाद्यान्नको भाउ बढेकोमा पनि सोधपुछ गरिसकेका छौँ । हाम्रो सबै संयन्त्र प्रयोग गरेर मूल्यवृद्धि नियन्त्रणको प्रयास सुरु गरेका छौँ ।

मूल्यबृद्धि हुनुका मुख्य तीन कारण

असिनापानी र हावाहुरीले उत्पादन कम, मूल्य बढी
वर्षे तरकारी लगाउने समयमा निरन्तर असिनापानी र भारी वर्षात हुँदा किसानले तरकारी लगाउन पाएनन् । अहिले तरकारीको मागभन्दा आपूर्ति करिब ३०% कम छ । आपूर्ति कम भएकाले मूल्य बढेको छ ।

आपूर्ति घट्यो, आएकोमा पनि मूल्यवृद्धि
भारतबाट आयात भइरहेको तरकारी पनि महँगिएको छ । व्यवसायीका अनुसार भारतमा चुनावका कारण मूल्य बढेको छ । चुनावकै कारण केही दिनअघि एक सातासम्म भारतबाट तरकारी नै आउनेक्रम न्यून थियो ।

भारतबाट खसी आयातमा कडाइ, मागको ५०% मात्र उपलब्ध
खसीको मासुमा मुलुक ७५% भारतमा निर्भर छ । तर, नेपालले खसीको स्वास्थ्यको प्रमाणपत्र माग्न थालेकाले भारतबाट आयात रोकिएको छ । जसकारण उपत्यकामा मागको तुलनामा खसीको मासुको आपूर्ति करिब ५०% कम छ । यही वेलामा बर्डफ्लुको संक्रमण फैलिएकाले कुखुराको मासुको माग घटेको छ । त्यसैले पनि खसीको मासुको मूल्य बढेको छ ।
नयाँपत्रिका दैनिकबाट

TATA ADD

सिफारिस