कर्मचारी–भूमाफिया मिलेमतोमा बेचियो मैतीदेवी मन्दिरको जग्गा

दियो पोस्ट  

काठमाडौं, जेठ ६ । गुठीयार र मालपोत कर्मचारीको मिलेमतोमा मैतीदेवी मन्दिरको जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको छ । जसका कारण मन्दिरको जग्गा मासिँदै गएको छ ।

नवदुर्गामध्येकी एक महŒवपूर्ण शक्तिपीठ मैतीदेवीको नाममा रहेको गुठी तथा निजी गुठीका नाममा रहेका जग्गा गुठीयार तथा भूमाफियाको चलखेलका कारण मासिँदै गएको हो ।
मन्दिरका गुठीयारले जग्गालाई निजी नाममा ल्याई विभिन्न व्यक्तिलाई भोगचलन गर्न दिएको प्रमाण राजधानीले फेला पारेको छ । यसरी मन्दिरको जग्गा व्यक्तिकोमा जानुमा मालपोत कार्यालयको भूमिका शंकास्पद देखिएको छ ।
३ भदौ २०५० मा मन्दिरको नाममा लालपुर्जा रहेको कित्ता नम्बर ९४ अन्तर्गत १५ आना २ पैसा जग्गा देवनारा मुनिकारको नामबाट सानुमाया मुनिकारले भोगचलनको अनुमति पाएको देखिन्छ । यद्यपि, मन्दिरको नाममा लालपुर्जा रहेकाले भोगचलनका लागि मन्दिरले स्वीकृति दिनुपर्ने हुन्छ ।
हाल सो कित्ता तीन व्यक्तिका नाममा कित्ताकाट भई गएको मालपोत कार्यालयको तथ्यांकले देखाउँछ । यसरी मन्दिरको नाममा रहेको जग्गा कब्जा गर्न भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो देखिएको छ ।
मन्दिर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पाएको मैतीदेवी क्षेत्र प्रबन्ध समितिका तत्कालीन सदस्य सचिव मोहनबहादुर श्रेष्ठले भूमाफियाका कारण मन्दिरको जग्गा मासिँदै गएको र यसमा भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो रहेको दाबी गरे ।

कित्ता नम्बर ३६० : अतिक्रमण गरी नक्सापासबिनै घर

गुठी संस्थान मैतीदेवीको नाममा रहेको कित्ता नम्बर ३६० अन्तर्गतको एक रोपनी ९ आना १ पैसा तीन दाम जग्गामा समेत नक्सापासबिनै घर बनाइएको छ । कित्ता नम्बर ३६८ र ३६९ को दक्षिणतर्फको जग्गामा पश्चिम साँधबाट मूल सडकतर्फको १ आना २ पैसा जग्गा अतिक्रमण गरी नक्सापासबिनै घर बनाएको पाइएको देखिन्छ ।
मैतीदेवी क्षेत्र प्रबन्ध समितिले विभिन्न मितिमा नक्सापास र जग्गाको यथार्थ जानकारी माग गर्दै रोक्काका लागि निवेदनसमेत दिएको थियो ।
समितिको कदमपछि विभिन्न व्यक्तिले मन्दिर क्षेत्रमा लागू गरेको गुरुयोजनालाई प्रभावित पार्ने गरी अदालतमा मुद्दा दायर गरेका थिए । तत्पश्चात् पुनरावेदन अदालत पाटनले मन्दिरको पक्षमा फैसला गरेको थियो । तर, कनकजंग थापाले अदालतकको आदेश समेतलाई अटेर गर्दै आएका छन् ।
त्यस्तै, निजी गुठीको जग्गा गुठीयार र गुठीयारको आफन्तका नाममा दर्ता भएको समेत पाइएको छ ।

– मन्दिरको नाममा लालपुर्जा भएको जग्गा व्यक्तिको नामबाट भोगचलनको अनुमति
– गुठीको जग्गा गुठीयार र गुठीयारको आफन्तका नाममा दर्ता
–पक्की घर बनाई मन्दिरको जग्गा अतिक्रमण

राजगुठीका जग्गा व्यक्तिका नाममा

धोवीखोला–मैतीदेवी राजगुठीअन्तर्गतका छुट गुठी जग्गामा वर्षौंदेखि कुत बाली बुझाई भोगचलन गर्दै आएकालाई जानकारी नै नदिई जग्गा गुठीयारले विभिन्न प्रपञ्च रची आफ्नो नाममा गरेको पाइएको छ ।
वर्षौंदेखि गुठीको आयस्ता गुठीयार आफंैले उठाई लिखत तथा परम्पराबमोजिम गुठीको पर्व पूजा र जात्रा चलाउने गरी रहेका राजगुठीअन्तर्गतका छुट गुठी जग्गा गुठीयारले व्यवस्थापन गर्ने गरेका छन् । यस्ता जग्गा गुठीयारले व्यवस्थापन गरी बाँकी रहेका जग्गा कसर राजगुठीमा बुझाउने वा गुठीयार आफंैले खान पाउने गरी छुट पाएका हुन्छन् । तर, यी जग्गा गुठीयारले व्यक्तिका नाममा गरेको पाइएको हो । उनीहरुले रैकरमा परिणत गरी व्यक्तिगत नाममा जग्गा दर्ता गराएको देखिन्छ ।
गुठीयारले कित्ता नम्बर १८९ अन्तर्गत जग्गाको समेत लालपुर्जा बनाई विभिन्न व्यक्तिको नाममा ल्याएको रहस्य खुलेको छ । २०२२ र २०३३ मा गरी दुईपटक जग्गा लिई घर बनाएको अवस्थामा ५० वर्षपछि करिब ८ आना जग्गा भोगचलन गरिरहेको सानुमैया खड्गीको नाममा रहेको जग्गामा हाल गुठीयारले लालपुर्जा देखाई हट्न दबाब दिएको बताइएको छ । हाल सो जग्गामा भोगचलन गर्दै आएकी सानुमैयाकी छोरी विजयलक्ष्मी शाहीका अनुसार हाल गुठीयारले कुत बाली बुझाएर भोगचलन गर्दै आएको जग्गामा लालपुर्जा देखाउन या खाली गर्न दबाब दिँदै आएको छ । सो परिवारले हाल सानुमाया खड्गीको नाममा रहेको साविकको मैतीदेवी गुठीका नाममा रहेको गुठी जग्गा गुठीकै नाममा कायम गर्न माग गरेको छ ।
गुठी संस्थानका अनुसार हाल यस्ता गुठीका गुठीयार, महन्थ आदिको सम्पूर्ण हक ऐनको दफा १९ ले समाप्त गरी त्यससम्बन्धी अधिकार संस्थानलाई दिइएको छ ।
राजधानी दैनिकबाट

सिफारिस