औषधि उपकरण खरिदमा बेथिति,४० करोडका अत्याधुनिक मेसिन थन्किदा बिरामी मर्कामा

औषधि उपकरण खरिदमा बेथिति,४० करोडका अत्याधुनिक मेसिन थन्किदा बिरामी मर्कामा

काठमाडौ, जेठ ७ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)ले ४० करोड ९८ लाख रुपैंयामा खरिद गरेर ल्याएका दुईवटा नयाँ अत्याधुनिक मेसिनहरू झन्डै एक वर्षदेखि थन्किएका छन् । सार्वजनिक खरिद प्रक्रिया मिचेर अनियमित किसिमले औषधि उपकरणहरू खरिद गरिएको भन्दै विवाद भएपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा दुई थान ती मेसिनहरू थन्किएका हुन् ।

‘न्युरो सर्जरी इक्विपमेन्ट’ थन्किँदा बिरामीहरू मारमा परेको अस्पतालका कर्मचारीहरूले बताएका छन् । ‘न्युरो सर्जरी इक्विपमेन्ट’ले कुनै पनि अपरेसनलाई यथाशीघ्र पूरा गर्न मद्दत गर्ने डाक्टरहरू बताउँछन् । न्युरो सर्जन डा. राजीव झाका अनुसार अपरेसनका क्रममा प्रविधिले २० देखि ३० प्रतिशत सहज बनाउँछ । तर, सोही उपकरणको खरिद प्रक्रिया नमिल्दा मेसिन थन्किएको र प्रयोग गर्न सकिएको छैन ।

उता सार्वजनिक खरिद पुनरावलोकन समितिले ‘इन्ट्रा–अपरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टम सिटीसम्बन्धी अत्याधुनिक मेसिन’ खरिद प्रक्रिया गैरकानुनी भएको ठहर गरेको छ ।
समितिले बोलपत्र माग गर्दा एक उपकरण सेट माग गरे पनि दुई उपकरण खरिद गरेको जनाएको छ । सार्वजनिक निकायले बोलपत्र पेस गरेकोमा दुई सेटको प्रस्तुत भएको हुँदा दुई सेटको रकम आफैंले दोब्बर बनाई सम्झौता गर्नु गैरकानुनी काम भएको समितिको निष्कर्ष छ ।

सार्वजनिक निकाय र बायोमेडबीच भएको सम्झौताले कानुनी मान्यता नपाउने भन्दै समितिले भनेको छ, ‘सार्वजनिक निकायसँग प्रतिक्रिया माग गरिएकोमा पहिले गरेको बोलपत्र मूल्यांकन जारी आशयको सूचना एवं खरिद सम्झौताका कानुनी आधार तथा वस्तुगत रूपमा प्रतिक्रिया पेस गरिएको छैन । र, सम्झौता विधिसम्मत भएको दाबीसमेत गरिएको छैन । अतः सार्वजनिक निकाय र बायोमेडबीच भएको सम्झौताले कानुनी मान्यता ठहर गर्दैन ।’

२०७४ असार ३० गते खरिदकर्ताको तर्फबाट वीर अस्पतालका तत्कालीन निर्देशक प्राडा भूपेन्द्र बस्नेत र आपूर्तिकर्ताको तर्फबाट बायोमेड इन्टरनेसनल प्राइभेट लिमिटेडबीच सम्झौता भएको थियो । सम्झौतापत्रमा मेसिन खरिद सम्झौता भएको ९० दिनभित्र अस्पतालमा ल्याई परीक्षणसमेत गराई बुझाउनुपर्ने उल्लेख छ । यस्तै, प्रतितपत्र खोल्दा ७० प्रतिशत र ३० प्रतिशत पेमेन्ट अफ डोर डेलिभरिका आधारमा भुक्तानी गरिने भनिएको छ ।

टेक्निकल स्पेसिफिकेसन मूल्यांकन सम्बन्धमा गठित प्राविधिक समितिले बायोमेड इन्टरनेसनल प्राइभेट लिमिटेडको २० करोड ४९ लाखको बोलपत्र स्वीकृतिका लागि २२ असार २०७४ मा सिफारिस गरेको थियो । यस्तै, राष्ट्रिय ट्रमा सेन्टरले ३० असार २०७४ मा बोलपत्र स्वीकृत गरी सोही दिन बायोमेड इन्टरनेसनल प्राइभेट लिमिटेडसँग २० करोड ४९ लाखको सम्झौता गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

बोलपत्रदाता मेडिटेक प्रालिले सार्वजनिक निकायमा २८ असार २०७४ मा पुनरावलोकन निवेदन दिइसकेपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ (६) बमोजिम पाँच दिनभित्र कारण खुलाई लिखित निर्णय गर्नुपर्ने र सोको कारण जानकारी निवेदकलाई दिनुपर्नेमा जानकारी गराएको नदेखिएको समितिले जनाएको छ । बायोमेड इन्टरनेसनल प्रालिले २६ चैत्र २०७५ मा समितिमा गरेको निवेदनमा सम्झौताअनुसार खोलिएको एलसी (प्रतितपत्र) र सोबमोजिम आयात भएको मेसिन हाल वीर अस्पताल र ट्रमा सेन्टरमा जडान भएको बताएको छ ।

सार्वजनिक खरिद पुनरावलोकन समितिमा बायोमेड इन्टरनेसनल प्रालिले २६ चैत्र २०७५ मा पठाएको लिखित प्रतिक्रियामा भनिएको छ, ‘औषधि उपकरणको लागि सम्झौताबमोजिम खोलिएको एलसी र आयात भएको उल्लिखित मेसिनहरू प्रतिष्ठान र राष्ट्रिय ट्रमा सेन्टरमा जडानसमेत भइसकेको छ ।’ सम्झौताबमोजिमको कामकारबाही अगाडि बढाउन रोक्न नमिल्ने कानुनी व्यवस्था उल्लेख गर्नुले हिमालयन मेडिटेक प्रालिको निवेदन गैरकानुनी हो ।’

बायोमेड इन्टरनेसनल प्रालिले सम्झौताबमोजिम खोलिएको एलसी र आयात गरिएको मेसिन जडान भइसकेको सम्पूर्ण कामकारबाहीहरू कानुनबमोजिम भएको बताएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले प्रक्रिया पूरा गरेर उपकरण खरिद गरिएको दाबी गरे । राजधानी दैनिकबाट

Trending News