काठमाडौं, जेठ ८ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सकिएको छ । तीन किलोमिटर लामो धावनमार्ग निर्माणको काम मंगलबार सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
‘विमानस्थलको सबैभन्दा महत्वपूर्ण काम रनवे निर्माण हो, बर्खाअघि नै यो काम नसकिएको भए सन् २०१९ भित्रै विमानस्थल सपन्न गर्न गाह्रो हुन्थ्यो,’ महानिर्देशक गौतमले भने, ‘सहज रूपमा काम हुँदा निर्धारित समयमै विमानस्थल सञ्चालनमा आउँछ ।’
टर्मिनल भवन निर्माणको बाँकी काम र अन्य पूर्वाधारमा अब केन्द्रित हुने उनले बताए । तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग पिच गर्ने काम ६ महिनाअघिदेखि सुरु गरिएको थियो ।
समग्रमा विमानस्थलको ७२ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरण ठूला परियोजना इकाइका प्रमुख प्रदीप अधिकारीले बताए । उनले भने, ‘धावनमार्गको लगभग सबै काम सकिएको छ, लाइनिङ र लाइटिङ राख्नेबित्तिकै सम्पूर्ण काम सकिनेछ ।’
धावनमार्ग सकिएसँगै टर्मिनल भवनको स्ट्रक्चर सकिएको र अन्य पूर्वाधारका कामलाई तीव्रगतिमा अघि बढाउन लागिएको पनि जानकारी दिए ।
विमानस्थलको ट्याक्सी वे निर्माणको काम अन्तिम चरणमा पुगेको र अब एक लेयर पिच मात्र गर्न बाँकी रहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेपछि विमानस्थल निर्माणको काम अघि बढेको थियो । एसियाली विकास बैंकको ६ अर्ब २२ करोड रुपैयाँ ऋणमा यस विमानस्थल निर्माण भइरहेको छ ।
काठमाडौंबराबरकै विमानस्थल
धावनमार्गको लम्बाइ र चौडाइ भने काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबराबरकै हुनेछ । तर, धावनमार्गको क्षमता भने गौतमबुद्ध विमानस्थलको बढी हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हजार मिटर भिजिबिलिटी भए मात्र जहाज अवतरण गर्न सकिन्छ भने यस विमानस्थलमा तीन सय ५० मिटर भिजिबिलिटी मात्र भए पनि जहाज अवतरण गर्न सक्छ ।
यात्रुले सेवा पाउने हिसाबले भने यो विमानस्थल काठमाडौं विमानस्थलको तुलनामा सानो हुनेछ । बर्सेनि १० लाख यात्रुलाई सेवा दिन सक्ने पूर्वाधार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुनेछ ।
एयर रुट दिन भारत तयार
भैरहवामा विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ ।
त्यसैले विमानस्थलको निर्माण सकिएसँगै सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक गौतमले जनाए । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीनजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
अहिले काठमाडौंसम्म हवाईयात्रा गरी र काठमाडौंबाट भैरहवासम्म हवाई वा सडक यात्राबाट लुम्बिनी पुग्नुपर्ने झन्झट यस विमानस्थलको सञ्चालनपछि अन्त्य हुनेछ । नयाँपत्रिका दैनिकबाट