कांग्रेसमा उजुरीको पोको खोलियो, कारबाही गर्न हच्किदै अनुशासन समिति

दियो पोस्ट  

काठमाडौ, जेठ ९ । पाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा देशभरबाट परेका १२ सय उजुरी उपर कारबाहीको कुनै संकेत देखिएको छैन । पार्टीबाटै आएका विभिन्न दबाबका कारण उजुरीमाथि छानबिन गरी कारबाही गर्न अनुशासन समिति हच्किएको स्रोतको दाबी छ । पार्टीले बनाएको अनुशासन समितिमा देशभरबाट १२ सयको हाराहारीमा उजुरी परेको भए पनि विभिन्न दबाब तथा कस्ता उजुरी उपर के गर्ने भन्ने नियमावली नहुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।
कांग्रेसले गत चैत मसान्तसम्म समितिमा उजुरी गर्न भन्दै म्याद दिएको थियो । यसबीचमा समितिमा पुराना र नयाँ आएका गरी १२ सय उजुरी जम्मा भएको छ । यसबीचमा समितिको औपचारिक बैठकसमेत पाँचपटक बसिसकेको छ । तर, बैठकले प्राप्त उजुरीको पोको खोल्ने, अध्ययन गर्ने र उजुरीको प्रकृति छुट्याउने मात्रै काम गरेको छ ।
समितिका एक सदस्यले समितिको बैठक पाँचपटक बसेको र उजुरीको पोको खोल्ने र अध्ययन गर्नेबाहेक बैठकले अरू काम नगरेको जानकारी दिए ।

‘यसबीचमा बैठक त पाँचपटक भयो तर आएका उजुरी खोल्ने र हेर्नेबाहेक अरू काम भएको छैन,’ समितिका ती सदस्यले भने । उनले समितिले कस्ता उजुरीउपर के कारबाही गर्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय नगरेको जानकारी दिए ।
समितिका अर्का सदस्य उमाकान्त चौधरीले हालसम्म उम्मेदवार आफैंले दिएको उजुरी, निर्वाचन समितिमार्फत आएका उजुरी, जिल्ला, क्षेत्र र इकाइ समिति हुँदै आएका उजुरीलाई छुट्याइएको बताए ।
उनले केही उजुरी प्रमाणसहित आएको र केही आरोप लगाउने नियतबाट समेत आएको भन्दै प्रमाण पुगेर आएका उजुरीउपर कारबाही हुने तर हचुवाका भरमा आएका उजुरी कारबाहीको दायरामा नआउने जनाए ।
‘प्रमाण पुगेर आएका उजुरीउपर कारबाही प्रक्रिया अघि बढ्छ, बिनाप्रमाण आक्षेप लगाइएका उजुरीमा केही हुँदैन,’ समितिका सदस्य चौधरीले राजधानीसँग भने । उनले कारबाहीको पहिलो प्रक्रिया स्वरूप सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोधिने र सफाइको मौका दिइने तर चित्त बुझ्दो जवाफ नआए अन्य कारबाही अघि बढ्ने प्रस्ट पारे ।
समितिका सदस्य सचिवसमेत रहेका कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले कारबाहीका विषयमा नियमावलीको तयारी भइरहेको जानकारी दिए ।

‘कस्ता उजुरीलाई के कारबाही गर्ने भन्ने विषयमा समितिले नियमावली बनाउन गृहकार्य गरिरहेको छ, यस विषयमा अहिले केही टुंगो लागिसकेको छैन,’ केसीले भने । उनले समितिको कार्यविधि भने बनेको बताए । यस्तै प्रमाणसहित आएका उजुरी र व्यक्ति विशेषलाई बिनाप्रमाण आक्षेप लगाएर आएका उजुरीका विषयमा समितिले अध्ययन गरिरहेको उनले जनाए । प्रमाण पुगेर आएका उजुरीउपर भने कारबाही हुने उनले बताए । केसीले समितिले अहिले निर्वाचनसँग जोडिएका विषयलाई मात्रै हेर्ने जानकारी दिए ।
अनुशासन समितिले प्राप्त उजुरीमध्ये धेरै जसो स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधि सभाको गत निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोसँग सम्बन्धित रहेको जनाएको छ ।
यस्तै गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नाममा समेत उजुरी परेको समितिले भनेको छ ।

अनुशासन समितिले पहिले ९रमेश रिजालको संयोजकत्वमा गठित समितिलाई आएका उजुरीसमेत यसपटक खोलेको हो । यसअघि नेता रिजालको तत्कालीन समितिले १५४ जनालाई स्पष्टीकरण सोधेको थियो ।
यसपटक भने समिति गठन गर्दा नै कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन समितिमा प्राप्त उजुरीलाई शीर्ष तहको सहमतिबाट नै अन्तिम टुंगो लगाउने भन्दै गठन गरेको थियो ।
राजधानी दैनिकबाट

TATA ADD

सिफारिस