काठमाडौं, जेठ १५ । नेपालको गणतन्त्रको वयले एक युग नाप्दै छ। त्यसो त राज्य र राजनीतिक व्यवस्थाका लागि एक युग अत्यन्त अल्प अवधि मानिन्छ।
तैपनि यस अवधिभित्र नेपाली नागरिकका नाममा उनीहरूकै प्रतिनिधिले संविधान जारी गर्नुबाहेक इतिहासमा अंकित हुने र भविष्यका पुस्ताले सम्झिनलायकका खास उपलब्धि हासिल भएका छैनन्। राजनीतिज्ञहरूले आफ्ना जिम्मेवारी निर्वाह गर्दा इतिहास बनाउन सक्नुपर्छ। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनले युवाहरूको भेलामा बोलेका थिए, ‘हाम्रा कामले हाम्रा पूर्वजहरूप्रति कृतज्ञता, हाम्रै पुस्ताका लागि न्याय, भावी पुस्ताका लागि कर्तव्य र समस्त प्राणीप्रति प्रेम प्रदर्शन गर्न सक्नुपर्छ।’
गोपालप्रसाद रिमालका क्रान्तिकारी कवितामा ‘एक जुगमा एक दिन एकपटक आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’ भनेजस्तै अढाई स य वर्षको नेपाल राज्यको इतिहासमा वंशाणुगत राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना यस्तै उथलपुथलपूर्ण युगीन परिवर्तन थियो। यसैमा गर्व गर्नुबाहेक वर्तमान पुस्ताका हाम्रा लागि छाती फुलाउने अन्य विषय छैनन्।
अढाई सय वर्षको राजतन्त्र ढालेर गणतन्त्रको घोषणा हुनु नेपालको इतिहासमै अभूतपूर्व घटना थियो। यसबाट नागरिक कति शक्तिशाली हुन्छ र के गर्न सक्छ ? देखाइदिएको छ। नेपाली जनताले वास्तविक रूपमा आफू अपराजेय रहेको र वास्तविक शक्तिको स्रोत भएको उदाहरण विश्वलाई देखाइदिए। अधिकार, प्रतिष्ठा र विवेकको दृष्टिले हामी नेपाली नागरिक कोहीभन्दा निकृष्ट छैनौं भन्ने गौरवबोध यस घोषणाले गरिदिएको छ।
अब वंश, कूल र परिवारका नाममा अरूभन्दा उच्च सोच्ने परम्परा ढलेको छ र गणतन्त्रमा मात्रै सबै समान हुन्छन् त्यहाँ न कसैको विशेषाधिकार हुन्छ न वंशानुगत पद। नेपालको गणतन्त्रको नयाँ इतिहासको पन्ना खोल्ने यस घोषणा त्यत्तिकै सहजरूपमा भएका भने होइन। दोस्रो जनआन्दोलनको सफलतापश्चात् संसद्को पुनः स्थापना भएपछि भने गणतन्त्र स्थापना गर्ने क्रममा विविध रोचक घटना भएका थिए। ती घटनाको ‘फ्ल्यासब्याक’ हुँदा रोमाञ्चक लाग्छ।
राजाका अधिकार निलम्बन
दोस्रो जनआन्दोलनपश्चात् पुनः स्थापना भएको व्यवस्थापिका–संसद्ले नेपालको म्याग्नाकार्टा भनिने ‘संसद्को घोषणा’ २०६३ जेठ ४ गते जारी गरेको थियो। जसले निरंकुश राजतन्त्रका सबै प्रचलन र परम्परा हटाउँदै राजाका विशेषाधिकारसमेत निलम्बन गरेको थियो। श्री ५ को सरकारको सट्टा ‘नेपाल सरकार’ लेख्ने, शाही नेपाली सेनालाई ‘नेपाली सेना’ बनाउने, राष्ट्रिय गान फेर्ने, राज्यप्रमुखको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्रीले बहन गर्ने, राजतन्त्रको भविष्यबारे संविधानसभाको निर्वाचनपश्चात् बस्ने पहिलो बैठकले निर्णय गर्नेलगायतका थिए। संसद् घोषणाका दिन काठमाडौंमा एउटा हल्लाले निकै तताएको थियो कि घोषणा हुनु पहिल्यै संसद्लाई सेनाले घेर्नेछ र सबैलाई गिरप्तार गर्नेछ।
यसबाट सिर्जना हुनसक्ने सम्भावित खतराबाट त्यहाँ उपस्थित सबै आतंकितजस्तै देखिन्थे। त्यतिबेला प्रधानसेनापति प्याराजंग थापा र बलाधिकृत रथीमा रुक्मांगत कटवाल थिए। पूर्ण सन्नाटाबीच तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त घोषणा वाचन गर्नुभयो। हल्लाविपरीत त्यहाँ कुनै घटना भएन।
विभिन्न स्रोतबाट चुहिएको समाचारअनुसार सैनिक नेतृत्वले जनमतविपरीत जान नमानेपछि यो दुर्घटना रोकिएको थियो। उक्त घोषणाका केही बुँदामा भने विविध कोणबाट पछिसम्म प्रतिक्रिया आए। विशेषगरी धर्म निरपेक्षता सम्बन्धमा प्रधानमन्त्रीलाई थाहा नदिई कहींबाट थपिएको भनेर आलोचनात्मक टिप्पणी हुन थाले। अन्तरिम संविधानप्रति श्रद्धा देखाउन प्रधानसेनापतिदेखि सबै राष्ट्रसेवक कर्मचारीलाई शपथ खुवाइएको थियो। विशिष्ट श्रेणीसम्मका पदाधिकारीलाई व्यवस्थापिका–संसद्मा र अन्य कर्मचारीलाई सचिव र विभागीय प्रमुखहरूले शपथ खुवाउनुपर्ने निर्देशन गरियो। त्यो सम्झदा संसद्को सक्रियता अलि बढी भएजस्तो लाग्छ। कार्यकारी मातहतका कर्मचारीलाई विधायिका संसद्ले शपथ गराउनु कर्मचारीतन्त्रको आदेशको एकतालगायतका सैद्धान्तिक पक्षहरूको कति मेल खान्छ बहसको विषय हुन सक्छ।
पंक्तिकार गृह मन्त्रालयको सचिव रहेकाले ‘ श्री ५ को सरकार’ लाई ‘नेपाल सरकार’ ले विस्थापित गर्दै सरकारी छाप र लेटर प्याड भोलिपल्टै लागू गर्ने दायित्व आइपरेको थियो। रातरात यसलाई नेपालभरका कार्यालयमा कार्यान्वयनमा ल्याइयो। विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा भने एकदुई दिन केही समस्या देखिए पनि अन्य सरकारी कार्यालयमा भोलिपल्टदेखि नै यो लागू गर्न सकियो। सरकारी निशाना छाप फेर्न त्यसपछिको मन्त्रिपरिषद्को बैठकले त्यसमा प्रतिबिम्बित हुनुपर्ने भौगोलिक विविधता, समावेशिता, राष्ट्रिय अखण्डताजस्ता विषय समेटी त्यसको डिजाइन स्वीकृतिका लागि पेस गर्न निर्देशन दियो।
यसका लागि तत्काल कलाकारबाट प्रस्ताव माग गरियो र कलाकार किरण मानन्धरको संयोजकत्वमा सबै प्रस्ताव मिलाई नयाँ निशाना छाप तयार गर्न लगाइएको थियो। हाल प्रचलनमा रहेको निशाना छाप यिनै कलाकारहरूको समूहले तयार पारेको हो। यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न सकेकोमा अहिले पनि गौरवबोध हुन्छ। गणतन्त्र घोषणाको ऐतिहासिक क्षण
पहिलोे संविधानसभाको निर्वाचन सम्पन्न भई समावेशिताका आधारमा ६ सय एक सदस्यहरू मि िश्रत निर्वाचन प्रणालीबाट निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गर्यो। सिंहदरबारभित्रको संसद् भवनको क्षमता कम भएकाले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार पार्ने निर्णय भयो। सुरक्षाको दृष्टिकोणले सुरक्षा पोस्ट्हरू तयार पार्ने र वरिपरि कन्सोर्टिना तार राख्ने काम नेपाल प्रहरीबाट रातारात तयार पार्न लगाइयो।
२०६३ सालको जेठ १५ गते संविधानसभाको पहिलो बैठक आह्वान गरियो। यो ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउन सभाहल बेहुली झैं सिँगार्ने र कूटनीतिक नियोगका प्रतिनिधिहरूसहित नेपाली समाजका विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रित गरिएको थियो। नेपालीहरूको आफ्नै जनप्रतिनिधिमार्फत संविधान लेख्ने ६ दशकदेखिको आकांक्षाले पनि यो दिन विशेष उत्सवजस्तै मनाउन लागिएको थियो। संविधानसभाका निर्वाचित सदस्यहरू सभा हलमा आआफ्ना परम्परागत जातीय र क्षेत्रीय भेषभूषामा उपस्थित भएका थिए। यो देख्दा लाग्थ्यो, पूरै नेपालको तस्बिर त्यहाँ थियो।
ज्येष्ठ सदस्यको नाताले नेपाली कांग्रेसका कुलबहादुर गुरुङले पहिलो सभाको अध्यक्षता गरेका थिए। सभाहलको ग्यालरी खचाखच आमन्त्रितले भरिएको थियो। सबैमा पहिलो बैठकको पहिलो निर्णयप्रति कूतुहलता देखिन्थ्यो।
यसैबीच गणतन्त्र घोषणा गर्ने प्रस्ताव राखियो र उक्त प्रस्तावको पक्षमा चार मतबाहेक सम्पूर्ण सदस्यहरूले समर्थन गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका चारजना सदस्यहरूले भने विपक्षमा मतदान गरेका थिए। घोषणापश्चात् हलमा हर्षोल्लासपूर्ण वातावरण बनेको थियो। उक्त मतदानमा केही आश्चर्यलाग्दो दृश्य पनि देख्न पाइयो।
राजाको कृपामा पञ्चायती राजमा बारम्बार सत्तामा पुग्ने सूर्यबहादुर थापाजस्ता पुराना महापञ्चहरूले गणतन्त्रका पक्षमा मतदान गर्नुले राजनीतिमा जे पनि जायज छ भन्ने उक्ति चरितार्थ भएजस्तो लाग्थ्यो। त्यस्तै अर्को विडम्बना, जस्तोसुकै दुःख हुँदा पनि जिन्दगीभर संवैधानिक राजतन्त्रको वकालत गर्ने कुलबहादुर गुरुङले आफैंले गणतन्त्रको घोषणा गर्नुपरेको थियो। संविधानसभाका सदस्यहरूमा नयाँ संविधान निर्माण समयमै गरिछाड्ने विश्वास र प्रतिबद्धता प्रदर्शित भइरहेको थियो।
फ्रान्समा फ्रेन्च क्रान्तिअघि त्यहाँको नेसनल एसेम्बलीका सदस्यहरूले संविधान नदिई कोही पनि नछुट्टिने शपथ खाएका थिए, जसलाई ‘टेनिस कोर्टको शपथ’ भनिन्छ। त्यो घटना र नेपालका संसद्हरूमा एउटै फरक थियो– फ्रान्समा राजाले संसद् भवनमा ताला लगाएपछि नजिकैको टेनिस कोर्टमा सांसद्हरूले बैठक सञ्चालन गरेका थिए भने नेपालमा राजा शक्तिहीन र निलम्बित हैसियतमा थिए।
राजाको दरबार बहिर्गमन
संविधानसभाले गणतन्त्र घोषणा गर्दा १५ दिनभित्र नारायणहिटी दरबार छाड्न निर्देशन दिएको थियो। यसअनुरूप मन्त्रिपरिषद्ले जेठ १७ गते दरबार खाली गर्न राजालाई पत्राचार गर्ने निर्णय गर्यो। तदनुरूप पत्राचार भएपछि दरबारको समग्र वस्तुस्थिति बुझ्न र त्यहाँ सरकारको उपस्थिति देखाउन गृहसचिवलाई खटाइयो भने त्यहाँको सम्पत्तिको अभिलेख तयार पारी बरबुझारथ गर्न सामान्य प्रशासन सचिवको नेतृत्वमा अर्को टोली खटाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको थियो। सरकारको निर्देशन पालना गर्नु एक कर्मचारीको कर्तव्य नै थियो, त्यसैले जेठ १९ गतेदेखि नै म र रक्षासचिव वामनप्रसाद न्यौपानेसहितको टोली दरबार पुग्यौं। त्यहाँका सुरक्षामा खटिएका सैनिक अधिकारीहरूले राम्रै सहयोग पनि गरे।
हाम्रा लागि दरबार चोटाकोठासम्मको निरीक्षण गर्नु नौलो अनुभूति थियो। सर्वसाधारणको पहुँँचबाहिर रहेको दरबारका रहस्यमय मानिएका स्थानहरूको निरीक्षण गर्दा मन खिन्न भयो। सामान्यतया राजाहरूको दरबार भन्नासाथ राजाहरूको वैभवशाली जीवन दर्शाउने भव्यताको कल्पना हुने गर्छ। तर, त्यहाँ त्यस्तो केही देखिएन। साना कोठा, अँध्यारो प्यासेज, अव्यवस्थित पुस्तकालय, स्याहार नगरिएको बगैंचा, दरबार हत्यापछि खण्डहर बनाइएको त्रिभुवन सदन, रङरोगन नभएर फुङ्ङ उडेको राजा वीरेन्द्र हुर्किएको श्री सदन मेरो कल्पनाभन्दा बाहिरको दृश्य थियो। महेन्द्र मञ्जिल (जहाँ रत्न राज्यलक्ष्मीको निवास छ) मात्र केही हेर्नलायक देखियो। बेलुका दरबारबाट फर्किंदा पत्रकारहरू दरबार कस्तो रहेछ ? भन्ने जिज्ञासा राख्ने गर्थे र सोचेजस्तो नभएको जवाफ दिइन्थ्यो। एक हप्तासम्म दरबारका पूर्वतर्फका कोठाहरू निरीक्षण गर्न नपाएपछि मैले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई टेलिफोनमा यो कुराको जानकारी गराएँ।
गिरिजाबाबुले आफूले बरु १०/१५ करोड मन्त्रिपरिषद्को निर्णयले राजालाई दिन सक्ने तर शान्तिसुरक्षालाई ख्याल राखेर राजाले दरबार कहिले छाड्ने हो ? राजालाई सोध्न निर्देशन दिनुभयो।
नेपाली हल्लाको संस्कृतिअनुरूप राजाले सबै सम्पत्ति लगिसकेको, सक्कली श्रीपेच लगी नक्कली राखेको जस्ता चर्चापरिचर्चाले सहर तातेको जानकारीसमेत गराएँ। गिरिजाबाबुले आफूले बरु १०/१५ करोड मन्त्रिपरिषद्को निर्णयले राजालाई दिन सक्ने तर शान्तिसुरक्षालाई ख्याल राखेर राजाले दरबार कहिले छाड्ने हो ? राजालाई सोध्न निर्देशन दिनुभयो। एउटा निजामती कर्मचारीका लागि यो काम कठिन थियो तैपनि मैले राजाको सुरक्षा हेर्ने जर्नेलमार्फत राजालाई सन्देश पठाएँ। उनीमार्फत भोलि २६ गते मंगल सदनमा भेट्ने खबर प्राप्त भयो।
साँझ म गृह मन्त्रालय फर्किएपछि मैले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई समेत जान अनुरोध गरें। प्रधानमन्त्रीको निर्देशनपछि उहाँ जान तयार हुनुभयो। मैले मुख्य सचिव भोजराज घिमिरेलाई समेत जान अनुरोध गरें। दरबारका तत्कालीन प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग कुरा भएपछि जेठ २६ गते बिहान ११ बजे गृहमन्त्री, मुख्य सचिव भोजराज घिमिरे, रक्षा सचिव वामन न्यौपानेसहितको टोली दरबार पुग्यौं। हामी पुग्दा मंगल सदनमा पूर्वराजाको पहिल्यै उपस्थिति भइसकेको रहेछ। कुराकानी सुरु हुनासाथ पूर्वराजा ज्ञानेन्द्रले ‘सबै कुरा सहज रूपमा जाओस् भन्ने हाम्रो पनि इच्छा छ’ भन्दा अनुहारमा कुनै आक्रोश थिएन।
कुराकै क्रममा मेरो मन्त्रीज्यूसँग केही राजनीतिक कुरा छ भनेपछि हामी बाहिरियौं। पछि बोलाइएपछि थाहा भयो– आमा रत्नलगायतको निवासको चिन्ता व्यक्त भएको रहेछ। आफूले तीन महिनाभित्र दरबार खाली गरिदिने आश्वासन प्राप्त भयो। त्यसको भोलिपल्टै मन्त्रिपरिषद्ले पूर्वराजाका लागि नागार्जुन दरबार र बयोवृद्ध सरला महारानी र मुमा बडामहारानी रत्नका लागि बाँचुञ्जेल नारायणहिटीमै बस्न दिने निर्णय गर्यो।
जेठ २९ गते हाम्रो टोली सबेरै दरबार पुगेको थियो। त्यस दिन श्रीपेचलगायत बहुमूल्य सामानको बरबुझारथ गर्नु थियो। तीन बजेतिर अचानक राजप्रसाद सेवाका राजकीय सम्पत्ति कोषका एक कर्मचारी श्रीपेचसहितका सामान बुझाउन आइपुगे। हामीले फायरप्रुफ सेफ लगिसकेका थियौं। यी बहुमूल्य सामान सक्कली हुन् कि नक्कली यकिन गर्न सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यसहितको टोलीले श्रीपेच, टायरालगायतका सामानमा जडित हिरा, मोती, माणिक्य परीक्षण गरी मुचुल्का गरिदिएपछि नेपाली सेनाको मागअनुरूप शाही अतिथिका लागि नयाँ बनाइएको सैलुन कोठामा श्रीपेच, टायरा, राजदण्ड, श्रीपेचको रेल्पिका सेफमा म, रक्षा सचिव, सामान्य प्रशासन सचिवसहितले लाहछाप लगाई सिल्ड गर्यौं। त्यति नै बेला पूर्वराजा ज्ञानेन्द्रको पत्रकार सम्मेलन हुँदै थियो। त्यहाँ राजाबाट जनताको नासो श्रीपेच जिम्मा लगाएर आफू दरबार छाड्न लागेको भनी बोलेको जानकारी हुन आयो।
पत्रकार सम्मेलनपश्चात् राजा ज्ञानेन्द्र आफ्नी रानीका साथ दरबारबाट निस्किएको दृश्य मार्मिक लाग्थ्यो। इतिहास निर्मम हुने गर्छ र जनता जागेको बेला अति निर्दयी पनि हुने गर्छ। नेपाल एकीकरण गर्ने वंशको दुई सय ५० वर्षको वंशाणुगत शासन हुन पुग्यो। तर, यो बहिर्गमन शान्तिपूर्ण हुनुमा राजाको पनि योगदान छ। बेलायतको गौरवपूर्ण क्रान्तिजस्तै विनारक्तपात ठूलो परिवर्तन सम्भव भयो। जर्मनी एकीकरण गर्ने बिस्मार्कले भनेका थिए, ‘जनमत अन्धो बलवान् दानवजस्तै हो। यसलाई सजिलैसँग काममा लगाउन सकिन्छ, तर रिसाएमा भयानक हुन सक्छ।’ यही नबुझ्दा नेपालको राजतन्त्रको अन्त्य हुन गयो।
नारायणहिटीमा झण्डोत्तोलन
जेठ २९ गते राजाले नारायणहिटी छाडेपछि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले दरबारमा सर्वसाधारणका लागि खुला भएको घोषणा गर्न असार १ गते नारायणहिटीमा बृहत् सभासहित झण्डोत्तलन गर्ने कार्यक्रम राख्न मलाई निर्देशन भयो। समय तीन दिनको मात्र थियो, तैपनि रातारात गृह प्रशासनलाई परिचालन गरेर यसको तयारीमा लागियो। राजनीतिक दलका नेताहरूलगायत कूटनीतिक निकायका प्रतिनिधि, समाजका विशिष्ट व्यक्तित्वहरू, गणतन्त्रको संघर्षमा लागेका कलाकार, नागरिक समाज र यसका लागि लामो संघर्ष गरेका विशिष्ट पत्रकारहरूलाई निमन्त्रणा पठाइयो। यसैबीच रामराजाप्रसाद सिंहले मेरा मित्र प्राध्यापक विन्देश्वर गोइतमार्फत एउटा सन्देश पठाउनुभयो कि गणतन्त्रको लागि लडेको मैले त्यस समारोहमा आउन विशेष सहुलियत पाउनुपर्छ। मैले उहाँलाई गृह मन्त्रालयको गाडी पठाएर नारायणहिटी ल्याउने प्रबन्ध मिलाएँ। बाबुराम भट्टराईले आफूलाई थप निमन्त्रणा कार्ड आवश्यक भएको जानकारी दिएपछि तत्काल मागबमोजिमको निमन्त्रणा कार्ड पठाइयो। उहाँहरू दुईजनाको गणतन्त्रप्रतिको अडानले पनि यो सही माग लाग्यो। कार्यक्रमका लागि मञ्चलगायत सम्पूर्ण व्यवस्थापनको जिम्मा त्यहाँको नेपाली सेनालाई दिइएको थियो। कार्यक्रम सञ्चालनका लागि नेपाल टेलिभिजनका ख्यातिप्राप्त कार्यक्रम सञ्चालकलाई जिम्मा दिने निर्णय गरियो। कार्यक्रमको अघिल्लो दिन गिरिजाबाबुसँग कार्यक्रमको जानकारी गराउने क्रममा उहाँले यो ऐतिहासिक कार्यक्रमको ‘मास्टर अफ सेरमोनी’ स्वयं गृहमन्त्री वा गृह सचिव हुनुपर्छ भन्ने निर्देशन दिनुभयो। यो निर्देशनपछि कार्यक्रम सञ्चालन स्वयं मैले गरें।
कार्यक्रम भव्य थियो, दरबारमा पहिलोपटक ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो। सबैमा राजदरबारको रहस्य जान्ने कूतुहलता देखिन्थ्यो। कार्यक्रम सञ्चालनको अनुभव नभएको पंक्तिकारले आफ्नो क्षमताले भ्याएसम्म राम्रो प्रस्तुति गर्न प्रयास गरेको थियो। दुःखको कुरा, माइकसहित मञ्च व्यवस्थापन राम्रो थिएन। यस्तो किन भयो अहिलेसम्म पनि मलाई यसको रहस्य बुझ्न कठिन भइरहेको छ। यसैबीच कलाकार नन्दकृष्ण जोशीले ठूलै जुलुससहित नारायणहिटीको दक्षिणी गेटमा जुलुसलाई रोकी गृहमन्त्रीसँग सबैलाई आज राजदरबार खुला गर्नुपर्छ भन्ने माग राख्नुभयो। गणतन्त्रका लागि कलाकारिताको क्षेत्रबाट अतुलनीय योगदान पुर्याएका जोशीलाई विशेष निमन्त्रणा दिइएको थियो। तर, त्यो समारोहमा उपस्थित विशिष्ट अतिथिहरूको सुरक्षालाई मध्यनजर राखेर यो माग पूरा गर्न नसकिने जानकारी मैले गराएको थिएँ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तालीका गडगडाहटबीच राष्ट्रिय झण्डाको झण्डोत्तलन गर्नुभयो र नारायणहिटी दरबार संग्राहलयको समेत उद्घाटन गर्नुभएको थियो। त्यो समारोह हेर्दा लाग्थ्यो, जनता वास्तविक रूपमै सार्वभौमसत्तासम्पन्न भएका छन्। सर्वसाधारणका लागि रहस्यमय रहेको दरबारमा प्रवेश पाउँदा सबैमा अनौठो भावोक्ति देखिन्थ्यो। कार्यक्रम सम्पन्न भएपछि दरबारपरिसरमा फोटो लिनेहरूको होडबाजी नै चलेको थियो। समग्रमा उक्त्त समारोह एउटा महोत्सव थियो, जहाँ राजतन्त्र र राजदरबारका रहस्य जनताले जान्न पाएका थिए। यस्तो ऐतिहासिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाउनु पंक्तिकारका लागि जीवनकै ठूलो उपलब्धि थियो।
गणतन्त्र गाथा नबिर्सियोस
गणतन्त्र राजनीतिक दर्शनमा उत्कृष्ट राजनीतिक प्रणाली मानिन्छ। यो यस्तो प्रणाली हो, जहाँ ईश्वरका सृष्टिका कोही पनि अरूभन्दा निकृष्ट हुँदैनन्। सत्तामा रहनेहरूले जनताको बृहत् समाजबाट शतिm प्राप्त गर्छन् न कि सीमित कुलिन वा सीमित समूहको मतबाट/अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘राष्ट्रपतिको कुर्ची सिंहको परिवार वा चिलको वंशलाई होइन।’ यही एउटा नागरिकको हैसियतले गर्व गर्ने विषय हो। तर, राजतन्त्रमा जति समानताका कुरा गरे पनि राजसंस्था कानुनभन्दा माथि हुन्छ। गणतन्त्र मात्रै यस्तो व्यवस्था हो, जुन प्राकृतिक अधिकारसम्मत छ। अमेरिकी स्वतन्त्रताको घोषणाले मानिसको समानता तथा केही अविच्छिन्न अधिकारको वकालत गरेको छ, जुन पूर्णरूपमा गणतन्त्रमा मात्र प्राप्त हुन्छ। तर, यसले दिनुपर्ने लाभ दिन सकेन भने ‘बनना रिपब्लिक’ मा रूपान्तरण हुन सक्छ। प्रसिद्ध अमेरिकी लेखक ओ हेनरीले एउटा काल्पनिक राज्य ‘अन्चुरिया’ को वर्णन गर्दै उक्त राज्यमा अस्थिरता, ल्युटोक्रेसी अत्यन्त सीमित स्रोतसाधन भएको र केराको निर्यातमा निर्भर अर्थतन्त्र भनेर ‘बनना रिपब्लिक’ को व्याख्या गरेका छन्। आशा गरौं– हाम्रो गणतन्त्र यस्तो नहोस्। जनता सचेत भएपछि यसको प्रतिरक्षा आफैं गर्छन्। नेपालमा गणतन्त्र डरपोकहरूले ल्याएका होइनन् र डरपोकहरूले रक्षा गर्न पनि सक्दैनन्। यसको रक्षा जनता स्वयंले गर्नेछन्। एउटा नपच्ने कुरा यसपटक गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिइएको छैन। नेपालीको यत्रो ठूलो र इतिहासको भाग नै बदल्ने पर्वमा बिदा नगरिनुले गणतन्त्रप्रति श्रद्धा गरेको देखिँदैन। दार्शनिक लाओत्सेले भनेका थिए, ‘ श्रद्धाविनाको उत्सव, हैसियतविनाको पदवी र दुःखविनाको शोकको के अर्थ ? ’। दोस्रो जनआन्दोलनमा जसरी जनताले नेताहरूको नेतृत्व गरे त्यसरी नै गणतन्त्रको रक्षा गर्ने नेतृत्व स्वयं जनताले गर्नेछन्। अन्नपूर्णपोष्ट दैनिकबाट