अन्धविश्वासको पराकाष्ठा : देवी खुसी पार्न भन्दै अढाई वर्षेको निर्मम हत्या

दियो पोस्ट  

काठमाडौं, जेठ १७ । वैशाख २३ गते अपराह्न ५ बजे । अढाई वर्षका बालक समीर (आर्यन) साह आँगनमा खेलिरहेका थिए । आमा रेणुदेवी नजिकैको बारीमा घाँस काट्दै थिइन् । छिमेकका शत्रुघ्न महतो नजिकैको इनारबाट पानी तानिरहेका थिए, जसलाई आर्यन ‘बाबा’ भनेर सम्बोधन गर्थे । बालक एक्लै खेलिरहेको महतोले पानी थापेकै बेला देखे । ८ भाँडा पानी ओसारेपछि आर्यन नजिक आए । उनलाई काखमा च्यापेर नजिकैको आफ्नो घरतिर लागे । भैंसीको दूध दुहेर आर्यनलाई खुवाए र सुताए ।

घाँस काटेर घर फर्केकी रेणु छोरो नदेखेपछि आत्तिइन् । चारैतिर खोजतलास गरिन् । कहीँ भेटिनन् । छिमेकीसमेत मिलेर बच्चा खोज्न थाले । आर्यनको हुलियासहित बच्चा हराएको माइकिङ गरियो । आर्यनको खोजी तीव्र पारिएको गाइँगुइँ महतोले पनि थाहा पाए । आफ्ना घरमा पनि खोज्न आउलान् भन्ने डरले उनी आर्यनलाई बोकेर नजिकैको झाडीमा लुके ।

करिब साढे ७ बजेतिर बालकसहित लुकेका महतो डेढ घण्टापछि आर्यनलाई लिएर घर फर्किए । खाटमा आफूसँगै आर्यनलाई सुताए ।

बिहान करिब २ बजे महतो ब्युँझिए । पूजापाठको सामग्री जुटाए । चामल–अक्षता सबै ठीक पारे । धारिलो हतियार पनि पूजा गर्ने ठाउँमै राखे । सुतिरहेका आर्यनलाई काखमा बोकेर पूजास्थलमा ल्याए र मन्त्रोच्चारण गर्दै हतियारले आर्यनको घाँटी रेटे । चमेनीमाईलाई खुसी पार्ने नाममा महतोले अढाई वर्षीय बालक आर्यनको ज्यान लिए ।

घरको ढलान भएको आँगनमा हत्या गरेपछि महतोले तौलियामा बेरेर आर्यनको शव अघिल्लो साँझ लुकाएकै झाडीमा लुकाए । तुरुन्तै अर्को ठाउँमा सारे । उज्यालो हुनुअघि नै हत्यामा प्रयोग भएका सामान र हत्या गरिएको स्थान धोइपखाली गरे ।

वैशाख २४ गते बिहान ६ बजे । धनुषाको मिथिला नगरपालिका–६ स्थित कृष्णनन्दन महतोको खेतमा आर्यनको शव गाउँलेले देखे । तुरुन्तै प्रहरीलाई खबर गरे । घाँटी रेटेर बालकको हत्या गरिएको हल्ला गाउँभरि फैलियो । बाहिर हल्लीखल्ली भइसक्दा पनि महतो घरमै लुकिरहे । आर्यन बिरामी पर्दा बेला–बेला झारफुक गरेर निको पारेको र राम्रै सम्बन्ध रहेकाले उनीमाथि कसैले शंका गरेनन् । परिवारका सबै सदस्य उपचारका लागि काठमाडौं गएकाले उनी घरमा एक्लै थिए ।

महतोले ‘दैवीशक्ति आर्जनका लागि’ चमेनीमाईलाई खुसी पार्न आर्यनको हत्या गरेको खुलेको छ । ‘दुई वर्षदेखि धामी–झाँक्री विद्या सिकिरहेका उनले देवीदेवतालाई खुसी पार्न र आफ्नो शक्ति बढाउन बालक बलि दिएको बताएका छन्,’ धनुषा प्रहरीका प्रमुख एसपी शेखर खनालले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘तन्त्रमन्त्र विद्यामा शक्तिशाली हुन्छु भन्ने अन्धविश्वासमा महतोले आर्यनको हत्या गरेको खुलेको छ। उनले अपराध स्विकारेका छन् ।’

मिथिला–६, ढल्केबरका शम्भु साहका छोरा हुन् आर्यन । महतो र आर्यनको घर तथा शव भेटिएको ठाउँ ७० मिटरकै सेरोफेरोमा छ । २५ दिन लामो अनुसन्धानपछि प्रहरीले आर्यन हत्याको यो डरलाग्दो र अन्धविश्वासको पराकाष्ठा नाघेको तथ्य सार्वजनिक गरेको हो ।

धनुषा प्रहरीले आर्यनका हजुरबुबा पीताम्बर साहको किटानी जाहेरीका आधारमा महतोमाथि अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ । ‘अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ,’ एसपी खनालले भने, ‘घटनामा अरू व्यक्ति संलग्न रहे/नरहेको खोजी भइरहेको छ ।’

बालक हत्या प्रकरण पहिल्याउन प्रहरीको चारवटा टिम खटिएका थिए । हेटौंडाबाट तालिमप्राप्त कुकुर झिकाइएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबर, जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी एकाइ जनकपुर र प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली २५ दिनसम्म हत्याको कारण खोतल्न खटिए । यस अवधिमा प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गर्‍यो ।

महतोलाई प्रहरीले पक्राउ गरेपछि बालक हत्याले नयाँ मोड लिएको थियो । मिथिला–८ कुसुमबिछौनाका जंगवीर महतो (५२ वर्ष) राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । शत्रुघ्न उनकै साला हुन् । शत्रुघ्नले २ वर्षअघि झारफुक र टुनामुना सिकेका हुन् । शत्रुघ्न पक्राउ परेपछि जंगवीर फरार छन् । उनैले बालकको हत्या गर्न शत्रुघ्नलाई उस्काएकोप्रहरीको आशंका छ ।

शत्रुघ्न दुई वर्षदेखि जंगवीरको भजनमण्डली सदस्य थिए । झारफुक र टुनामुनाको मन्त्र त्यहींबाट सिकेपछि शत्रुघ्नले छिमेकका बालबच्चा बिरामी पर्दा झारफुक गर्न थाले । आर्यनलाई ज्वरो आउँदा उनैले फुकेका थिए । पहिलेदेखिकै चिनजान भएकाले वैशाख २३ गते अपराहन आर्यन सजिलै उनीसित गएका थिए ।आर्यनका बुबा शम्भु २ वर्षदेखि मलेसियामा कार्यरत थिए ।

छोराको हत्या गरिएको १२ औं दिन मात्रै उनी ढल्केबर आइपुगे । आर्यन घरमा आमा रेणुसँग बस्थे । कान्तिपुर दैनिकबाट

TATA ADD

सिफारिस