नारायणी अस्पताल भरिएपछि कोरोना संक्रमित लाई विद्यालयमा राखियो

दियो पोस्ट  

काठमाडौँ, जेठ १ । वीरगंजको नारायणी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढेपछि बेड अभाव भएको छ । मंगलबार र बुधबार थपिएका संक्रमितहरु राखिएसँगै अस्पतालमा अब अन्य बिरामी राख्ने ठाउँ अभाव भएको हो ।

नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो । संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरु घरमै बसेका थिए । बुधबार राति थपिएका ३ जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको उनले बताए ।

बुधबार राति थपिएका ३ जना वीरगञ्ज महानगरपालिका १६ इनर्वाका ७४ वर्षीय पुरुष, मुर्लीका १५ वर्षीय युवक र एक जना ३६ वर्षीया स्वास्थ्यकर्मी रहेका छन् ।

प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले विद्यालयमा दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय भएको थियो ।

नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।