काठमाडौँ । मधेशको गर्मीलो मौसम । त्यससंगै आसन्न स्थानीय निकायको निर्वाचनले बिराटनगर महानगरपालिका झनै तातिएको छ । पछिल्लो समय प्रदेश नम्बर १ को राजधानी समेत रहेको विराटनगर महानगर पालिकामा सत्ता गठबन्धन र अन्य प्रतिस्पर्धामा रहेका राजनीतिक पार्टीहरु चुनाबी अभियानमा ब्यस्त छन् । तर, यहाँ चर्चा भने, उपप्रमुख पदका स्वतन्त्र उम्मेद्वारको छ ।
लामो समयदेखि नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेकी नमिता न्यौपानेको चर्चा चुलिएको छ । पाँच दलीय गठबन्धन र अन्य दलको प्रतिस्पर्धा भइरहेका बेला उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी दिएपछि उनी चर्चाको शिखरमा रहेकी हुन् ।
यद्यपी, उपप्रमुख पदकै लागि बिराटनगर महानगरपालिकामा १७ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
आखिर उनले किन दिइन त स्वतन्त्र उम्मेद्वारी ?
संबिधानले नै ग्यारेन्टी गरेको ३३ प्रतिशत महिला सहभागिताको सावाललाई राजनीतिक दलले बिर्सिएको उनको आरोप छ । गठबन्धन गरेर चुनावी तालमेलमा उत्रिएका पार्टीले महिलाको सहभागितालाई प्राथमिकता नदिएको उनी बताउँछिन् । भन्छिन्, ‘गठबन्धनका नाममा हाम्रो अधिकार नै हनन भएको छ । महिला सहभागितालाई सुनिश्चित गर्नकै लागि मेरो उम्मेद्वारी हो । त्यस संगै भ्रष्टचार मुक्त र शुसासनसहितको समृद्ध महानगर बनाउने मेरो परिकल्पना हो ।’
त्यसो त, उनले यस अघिको स्थानीय तह निर्वाचनमा पनि बिराटनगर महानगरपलिकाबाटै उपमेयर पदमा उम्मेद्वारी दिएकी थिइन् । त्यतीबेला उनी निकै कम भोटले दोस्रो उपबिजेता बनिन् । उक्त निर्वाचनमा अत्यधिक मत बदर भएका कारण आफुले हार्नु परेको उनको भनाई छ ।
अहिले आम बिराटनगरबासी जनताको अपेक्षा, चाहना, सल्लाह र सुझावकै कारण आफुले उम्मेद्वारी दिएको उनले बताइन् । राजनीतिक दल भन्दा माथि उठेर आफुले स्वतन्त्र उम्मेद्वारी दिएको उनको भनाई छ ।
‘स्थानीय तहको निर्वाचन भनेको बिकास र सेवा प्रवाह संग जोडिएको बिषय हो । त्यसकरण पनि राजनितिक दलबीचको प्रतिस्पर्धा त राजनीतिक दलमै हुन्छ,’ उनी भन्छिन्, ‘काम गर्ने इच्छाशक्ति र क्षमता राख्ने मान्छेहरुले स्वतन्त्र रुपमा स्वतन्त्र नागरिकको प्रतिनिधित्व गर्दै चुनावमा उठ्नु पर्ने वाध्यात्मक आवश्यकता देखा परेको छ । त्यही वाध्यात्मक आवशयकतालाई परिपुर्ती गर्नकै लागि नै मेरो यो उम्मेद्वारी हो ।’
आफ्नो क्षेत्रमा रहेको नागरिकताको समस्यालाई हल गर्न आफु प्रतिबद्ध रहेको उनले बताइन् । यस समस्यालाई केन्द्रिय तथा संघीय सरकारसंग समन्वय गर्दै केन्द्रिय सरकारको नीतिलाई स्थानीय स्तरमा लागु गर्न आफुले पहल गर्ने उनको भनाई छ ।
उपप्रमुख पद न्यायपालिकाको प्रमुख पद भएका कारण बिराटनगर महानगरपालिकामा रहेका आम शोषित पीडित जनताको पक्षमा आवाज उठाउने उनी बताउँछिन् । जातीय, तथा लैंगिक असमानताको बिषय न्यायपालिकासंग जोडिएका बिषय भन्दै उनि भन्छिन्, ‘जातीय बिभेद, महिलामाथिको उत्पीडन, बोक्सी प्रथा तथा सबै खाले बिभेद र कुरितीहरुको अन्त्य गर्ने र अन्यायमा परेका समुदायलाई न्याय दिने वातावरण बनाउन म सधै प्रतिबद्ध हुनेछु ।’
त्यसो त, स्वतन्त्र उम्मेद्वार भए पनि उनले आफ्नो जित्ने आधार प्रशस्तै रहेको बताउँछिन् । पार्टीले दवाब दिइरहँदा पनि आफुले आफ्नो उम्मेद्वारी फिर्ता नलिएको उनको भनाई छ । ‘पहिले पनि मैले जितेकै हो । अहिले पनि मैले जित्छु नै भन्ने छ । बिराटनगरमा जनताले मेरो आवश्यकता महसुस गरेरे मलाई उम्मेद्वार बनाएका छन् । त्यो आवश्यकता परिपुर्ति गर्नका लािग पनि मैले यो आँट गरेको हो ।’ आफुले जित हासिल गरेर बिराटनगरबासीको सपना पुरा गर्ने उनको प्रतिबद्धता छ ।
गठबन्धनको तर्फबाट मेयर पदका लागि नोपली काँग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजबादी पार्टीका अमरेन्द्र यादबले उम्मेद्वारी दिएका छन् । मेयर र उपमेयर दुबैजना पुरुष उठाउँदा महिला सहभागिताको सवाल नै ओझेलमा परेको उनको ठम्याइँ छ । त्यसैैकारण पनि आफु वाध्य भएर स्वतन्त्र उम्मेद्वारी दिनु परेको उनले बताइन् ।
गठबन्धनको नाममा महिलाहरुको अधिकार हनन भएको उनको भनाई छ । संबिधानमै प्रमुख पदमा पुरुष उम्मेद्वार भए महिला उपप्रमुख हुनु पर्ने उल्लेख छ । तर, गठबन्धनले संबिधानको मर्म बिपरित सबै पदमा पुरुषलाई मात्र उम्मेद्वारी दिए पछि आफुहरु संबिधानले दिएको अधिकार र अबसरबाट हामी बञ्चित भएको उनले बताईन् ।
यद्यपी, बिराटनगर क्षेत्रमा ५५ प्रतिशत महिलाहरु मतदाता रहेका छन् । राजनीतिक दलले महिलालाई उम्मेद्वारी नदिएका कारण ति मतदाताहरुको मनोबिज्ञानमा पनि असर परेको उनले बताईन् । विराटनगर महानगर पालिकामा गठबन्धनमा आवद्ध दलका महिला साथीहरुबाटनै आफूलाई उम्मेद्वारी बन्न अनुरोध भए अनुसार आफ्नो उम्मेद्वारी भएकाले जित पनि निश्चित भएको उनको दाबी छ ।
यस अघि गठबन्धनमा आवद्ध दलहरुले पार्टी निर्णय विपरीत उम्मेद्वारी दिएका सबै कार्यकर्ताहरुलाई उम्मेद्वारी फिर्ता लिन अनुरोध गर्दै पार्टी निर्णय उलंघन गरे कारवाही गर्ने चेतावानी दिएको थियो ।
तर, न्यौपानेको उम्मेद्वारीलाई गठबन्धन दलहरु बीचमा महानगर भित्र पद बाँडफाँडको असन्तुष्टिको अभिव्यक्तिको रुपमा समेत लिइएको छ । गठबन्धन भित्रका दोस्रो ठूलो शक्तिको रुपमा रहेको माओबादी केन्द्रले विराटनगरमा मेयर र उपमेयर नपाएपछि वडाध्यक्षहरुमा मिलाउनुपर्ने माग दबी गर्दै आएको थियो । तर नेपाली काँग्रेस र जसपाले आफूले जितेको वडाहरु नछोड्ने भएपछि न्यौपानेको उम्मेद्वारी कायमै रहेको माओबादीकै नेताहरु बताउँछन् ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका तर्फबाट संयुक्तरुपमा मनोनयन दर्ता भएको छ । महानगरमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरुले पनि प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगर महानगरमा जित हासिल गर्न मतदाताको मन जित्नु पर्ने देखिन्छ । गत चुनावमा उपमेयरकी प्रत्याशी रहेकी न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन । यसपालीको स्थानीय निकायको चुनावमा आफ्नो जित पक्का भएको बताउँदै न्यौपानेले चुनाव चिन्ह समेत पाइसकेकी छिन् । अघिल्लो पटक गोलाकार भित्रको हसिँया हथौडा चुनाव चिन्हबाट चुनाब लडेकी न्यौपानेले यसपाली भने लालटिन चुनाब चिन्ह पाएकी छिन् ।