सिन्धुपाल्चोकका एमाले नेतामाथि सहकारी ठगीको आरोप, १ करोड १८ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी !

दियो पोस्ट  

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एमाले नेतामाथि सहकारी ठगिको आरोप लागेको छ । सिन्धुपाल्चोक हेलम्बु गाउपालिका ७ इचोकमा रहेको नवजीवन साना किसान कृषि सहकारीको रकम नक्कली ऋणी खडा गरि ठगि गरेको पाइएको हो ।

सस्थाका अध्यक्ष टंक प्रसाद गजुरेलको नेतृत्वमा सहकारीको एक करोड १८ लाख भन्दा बढी रकम हिनामिना गरि ठगी गरेको आरोप छ ।

अध्यक्ष गजुरेलले ७८ वटा भन्दा बढी नक्कल ऋणी खडा गरि ठगी गरेको आरोप छ ।

उनले सहकारी संचालन गर्ने र आफु खुसी रकम चलाएर कृषिको नाममा ऋण देखाउने समेत गरेको इचोकमा एक स्थानीयले बताएका छन् । सस्थाको अध्यक्ष गजुरेलेले गाउँको सोझा साझाको नाममा ऋण देखाइ रकम चलाउने र अन्य व्यवसायमा लगाउनदेखि चर्को ब्याजमा ऋण दिने समेत गरेको ती स्थानीयले बताए ।

सस्थाको मिति २०७७ साउन १८ मा भएको तत्कालीन छानबिन समितिले सस्थाको नाममा ४ वटा खाता, शेयर सदस्यहरुको ब्यक्तिगत खाता र अन्य सम्बन्धि अभिलेखहरु अध्ययन तथा निरीक्षण गर्दा २०७७ असार ३१ मा १५४ सेयर सदस्यहरुमा १ करोड ५३ लाख ४० हजार २ सय ७८ कर्जा लगानी भएको पाइएको हो । यसरी कर्जामा सनाखत गर्ने ७६ जना सेयर सदस्यको लगानी ३५ लाख ३६ हजार ३ सय ७७ भएकोमा ७८ जना नक्कली कर्जाको कागजात मिलाइ १ करोड १८ लाख रकम हिनामिना गरेपछि हेलम्बु गाउपलिकाले सहकारीको हिनामिनाबारे छानबिन समिती बनाएको थियो । समितिले गाउँपालिकालाई प्रतिवेदन पेश गरेको छ । जसमा गजुरेलको नेतृत्वमा १ करोड १८ लाख रुपैयाँ हिनामिना गरि ठगी गरेको उल्लेख छ ।

सम्पत्ति हिनामिना गरी ठगि गरेका गजुरेलले प्रतिवेदनले औँल्याएको विवरण यथार्थ परक रहेको भन्दै हेलम्बु गाउँपालिका ७ का वडाध्यक्ष खेतराज घिमिरेको रोहबरमा २०७८ भदौ २२ गते भित्र ८० लाख ४४ हजार रुपैयाँ फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनले हालसम्म पनि रकम फिर्ता नगरेपछि समितिले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दिएको छ ।

रकम ठगीमा तत्कालिन प्रबन्धक शर्मिला भट्टराईले पनि मतियारको भूमिका निभाएको प्रतिवेदनमा उल्लेख छ ।

यस विषयमा प्रतिक्रिया लिन गजुरेलको मोबाइलमा पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।

 

सम्बन्धित खबर