आइजीपी नियुक्तीबारे बरिष्ठ पत्रकार दाहालको टिप्पणी,‘सरकारले बाहुनमाथि अन्याय गर्यो’

दियो पोस्ट  

काठमाडौं । हिमालय टाइम्स दैनिक पत्रिकाका सम्पादक तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाल प्रहरीको आइजीपी नियुक्तीमा सरकारले ‘बाहुनमाथि अन्याय’ गरेको बताएका छन् ।

सरकारले नेपाल प्रहरीका एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरिक्षकमा नियुक्ती गरेपछि कांग्रेसको पुराना नेता समेत रहेका दाहालले यस्तो बताएका हुन् । उनले एआइजी विश्वराज पाखरेल ब्राम्हण भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले बढुवा नगरेको आरोप लगाएका छन् ।

‘अहिले प्रहरी महानिरीक्षक नियुक्तिमा तत्कालको वरियतालाई मिचेर कसैका आफन्त खुसी गराउन कसैका घर प्रसन्न राख्न र भनिन्छ अरु पनि केही सेटिङ्का आधारमा चलखेल भएको छ । प्रधानमन्त्री देउवाको पछिल्लो समय प्रहरी बारे किन विवादास्पद निर्णय ? त्यो पनि चुनावका मुखमा । गठबन्धनका नेता, गृहमन्त्री , गृह प्रशासन , पार्टीका प्रभावशाली पदाधिकारीहरुपनि यस्तो अन्याय गर्न प्रधानमन्त्रीलाई उक्साइ रहनु भएको छ कि ? नत्र क्रम सहितको विधि भङ्ग गरी विश्वराज पोख्रेललाई पाखा लगाएर कुनै सिंहलाई प्रमुख नियुक्त गरियो ? विश्वराज सुदुर पूर्वी पहाड ओखल्ढुङ्गाको सामान्य किसान बाहुन परिवारको सदस्य नभएर कुनै सुदुर पश्चिमको कुनै ठकुरी बाबुसाहेव परिवारमा जन्मेको भए यसरी पेलिन्थ्यो त ? अब जवाफ खोज्न थाले भएको छ,’ उनले सामाजिक संजालमा लेखेका छन्,‘सरकारका लागि मात्रै भएको गठबन्धन चुनावी तालमेलमा परिणत गरेपछि कांग्रेसको चुरो मरेको अनुभव धेरैले गरिरहेका छन् । प्रहरी महानिरीक्षक प्रकरणमा भएको यस्तो अन्याय आगोमा घिउ थप्न पर्याप्त छ ।’

तर, दाहालले भनेजस्तै सरकारले बरियतामा कनिष्ठ रहेका धिरज प्रतापलाई नियुक्त गरेको होइन । नियुक्तीको आधारमा दुबै जना समान बरियतामा थिए । २०४९ चैत्र ११ मा पोखरेल र सिंह एकैसाथ प्रहरी निरिक्षकमा प्रवेश गरेका थिए । डिएसपी बढुवामा त धिरज एक नम्बरमा थिए । त्यस्तै एसपी बढुवामा पनि उनी एक नम्बरमै थिए । तर, एसएसपी बढुवामा भने बरियतामा निकै पछाडी रहेका पोखरेल राजनीतिक फेरो समातेर एक नम्बरमा आएका थिए । त्यसपछि काभ्रेमा भएको सवारी दुर्घटनामा निधन भएका एक डिआइजीको स्थामा उनी तत्कालिन केपी ओली सरकारको चाकडी गरेर बढुवा भएका थिए । जबकी उनीभन्दा १ ब्याच सिनियर १० जना एसएसपीहरु हुँदा हुँदै सरकारले बरियता मिचेर उनलाई बढुवा गरेको थियो । डिआइजी पदमा रहेका पोखरेललाई गृहजिल्ला ओखलढुंगाका नेता तथा उपप्रधान मन्त्री ईश्वर पोखरेलले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत थाहा नदिई एआइजीको दरबन्दी थपेरै बढुवा गरिदिए । त्यतिबेला संसदको राज्य व्यवस्था समितिले उनको बढुवा नगर्न निर्देशन समेत दिएको थियो । तर, राजनीतिक पहुँचकै आधारमा बढुवा भएका उनीबारे केही मिडिया बाहेक मूलधारको मिडिया चुपचाप बसेको थियो । अहिले सरकारले विश्वकै शैलीमा धिरजमाथि ‘न्याय’ गरेको अर्काथरीको चर्चा छ ।

दाहालको स्ट्याटसमा पूर्व जर्नेल राजेन्द्र थापाले कमेन्ट गरिदिएका छन् ।

‘यहाँ बाहुन र ठकूरीको सवाल नउठाउनुपर्ने । जागिर खाएदेखिको सिनियर १ नम्बरको सिंहलाई छेकेर एसएसपीदेखि पोखरेललाई अगाढी बढाउनु र दरबन्दी घटाएर एक्लो एआइजी बनाउने ईश्वर पोखरेल र केपीले के बाहुनलाई उचालेको र ठकुरी र क्षेत्रीलाई पछारेको भन्न सकिन्न र ? वास्तवमा जात भन्दा ईश्वर पोखरेलले नाता र शेरबहादुर देउवाले भेग फ्याक्टर,’ उनले लेखेका छन् ।