प्रभाको संकल्प : ‘विदुर नगरपालिकामा नो भ्यू टावर, नो डोजर’

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख १९, २०७९ | १९:०३:०२

 

नुवाकोट विदुर नगरपालिका वडा नं. ७ स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटीले माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिएकी छिन् । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध भएकी उनी माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक पोष्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी हुन् ।

विद्यार्थीकालदेखि राजनीतिक यात्रा सुरु गरेकी उनले जनयुद्ध सुरु भएपछि तत्कालीन सरकार पक्षको धरपकडका कारण घरमा बस्ने र पढ्ने वातावरण नभएपछि युद्धमा होमीएकी थिइन् । जनमुक्ति सेनामा क्रियाशील रहँदा चर्चित खारा आक्रमणदेखि पश्चिम नेपालका धेरै फौजी मोर्चाहरुमा सहभागी भएको अनुभव उनीसँग छ ।

शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको व्यारेकमा बस्नुका साथै पछि स्वैच्छिक अवकाश लिई पत्रकारितातिर लागेकी उनी विभिन्न पत्रपत्रिकामा सक्रिय भइन् । हिमालय टेलिभिजनमा लामो समय समाचार वाचिकाको रुपमा पनि उनले काम गरिन् । त्यस्तै प्रेस सेन्टरको केन्द्रीय सचिवसमेत भइसकेकी उनी हाल नेकपा (माओवादी केन्द्र) बिदुर नगर कमिटीको अध्यक्ष पनि छिन् । स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धनको तर्फबाट विदुर नगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी माओवादी नेतृ बोगटीसँग गरिएको निर्वाचन केन्द्रीत कुराकानी ।

तपाईले उम्मदवारी दिनुभएको नगरपालिकाका विशेषता के के हुन् ?

विदुर नगरपालिका प्रमुख व्यापारिक केन्द्र पनि हो । यहाँ रसुवा, धादिङदेखि आम नागरिक स्वास्थ्य उपचार तथा सर–सामान किन्नका लागि आउने गर्दछन् । त्यस्तै यस नगरपालिकाको ऐतिहासिक र पुरातात्विक महत्व पनि छ । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुपूर्व यहाँ बसेर विभिन्न योजनाहरु बनाएका थिए । ती स्थानहरुलाई संरक्षित गरिएको छ । जस्तो नुवाकोट दरबार, पृथ्वीनारायण शाहको निधन भएको स्थान देवीघाटमा उहाँको सालिक बनाइएको छ । विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरु छन् ।

तपाईंका चुनावी एजेण्डाहरु के–के हुन् ?
हामीले ठूला कुरा गरेर पूरा नगर्नुभन्दा पनि जति गर्न सकिन्छ त्यति बोलेर जानुपर्छ । नगरभित्रका पाँच विद्यालयहरुलाई नमुना विद्यालय बनाएर अत्याधुनिकीकरण गर्ने । कम्प्युटर कोठाहरु, ल्याबहरुको व्यवस्था गरी अत्याधुनिक प्रविधियुक्त बनाउने योजना छ ।

त्यस्तै एउटा नगरमा एउटा बहुप्राविधिक विद्यालय स्थापना गर्ने भन्ने माओवादी केन्द्र र सरकारको योजनाअनुसार विदुर नगरपालिका वडा नं. १ मा ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’ स्थापना गरिएको छ । हाल भवन भाडामा लिएर स्कुल सञ्चालन गरिएकोमा चाँडै नै विद्यालयको भौतिक संरचना र विकास कामहरु गरी नगरपालिकामा दक्ष जनशक्ति उत्पादन गर्न विशेष जोड दिइनेछ ।

त्यस्तै नेवार, तामाङ समुदायको बाहुल्यता रहेको यस पालिकामा उनीहरुको मातृभाषा लोप हुने अवस्थामा रहेकाले मातृभाषाको कक्षा सञ्चालनमा नगरपालिकाले पहल गर्नेछ ।

त्यसैगरी नुवाकोट दरबारलाई फास्ट ट्र्याकबाट विश्व सम्पदा सूचीमा लैजान प्रयास गर्ने, नगरपालिकामा ‘नो भ्यू टावर, नो डोजर’ गर्ने, मुख्य सडकलाई अनिवार्य कालोपत्रे गर्ने र भद्रगोल तरिकाले बाटो खन्न नदिने हाम्रो गठबन्धनको साझा एजेण्डा रहेको छ ।

त्यसैगरी कृषि र पशुपालनको माध्यमबाट जनताको जीविकोपार्जन हुने गरी नगरपालिकाको तर्फबाट बजार व्यवस्थापन गर्ने हाम्रो उद्देश्य रहेको छ ।

तपाईंका जितका आधारहरु के–के हुन् ?

विदुर नगरपालिकामा एमालेले नेतृत्व गरिरहँदा जनताले नयाँ सोच, विकासको प्रत्याभूति गर्न पाएनन् । जनताका आवश्यकता र मागहरुको सम्बोधन नहुँदा एमाले नेतृत्वको स्थानीय सरकारप्रति मतदाताहरु रुष्ट बनेका छन् । त्यसको विपरित हामीसँग भएको नयाँ सोच र भिजनप्रति स्थानीय आकर्षित भएका छन् । त्यस्तै, राजनीतिक रुपमा अहिले हामीले प्रतिगमनविरोधी गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका छौं । एमाले नेतृत्वले गरेको गलत कामको जनताले पनि मूल्यांकन गरेका छन् । पटक–पटक संविधानमाथिको प्रहारलगायत एमालेले एकपछि अर्काे गलत कार्य गर्दै आएको जनताले बुझ्नु भएको छ ।

यस पालिकामा मेयरका उम्मेदवार राजन श्रेष्ठ हुनुहुन्छ, उहाँ युवा । म पनि महिला अनि युवा । हामीमा काम गर्ने जोश जाँगर छ । हाम्रो प्रतिनिधित्वप्रति युवा र महिला समुदायको अत्यधिक आकर्षण छ ।

पालिकामा भ्रष्टाचारको अवस्था कस्तो छ ?

देशव्यापी मौलाएको भ्रष्टाचारबाट विदुर नगरपालिका पनि अछुतो हुन नसकेको छैन । नगरपालिकाको विकासका बजेटहरु पारदर्शी ढंगले खर्च हुन सकेको छैन । वडा नं. १३ मा कागती लगाउने योजनामा पालिकाले बजेट खर्च ग¥यो । तर जनस्तरबाटै यहाँ व्यापक भ्रष्टाचार भयो भन्ने आवाज उठिरहेको छ ।

नगरपालिकाभित्र जाँदा पनि आफ्नो वा आफ्नो पार्टीको हो कि होइन भन्ने आधारमा वार्षिक बजेट सीमित व्यक्तिहरुको पहुँचमा मात्रै पु¥याउने काम भएको छ । यस्तो भ्रष्टाचारको अवस्था जनताले पनि महशुस गरेका छन् । हामी राजनीतिक दलहरुले पनि बारम्बार यसबारे सचेत गराइरहेका छौं । हामी अबको निर्वाचनबाट नगरको नेतृत्वमा आएपछि विगतमा भएका भ्रष्टाचारको उचित छानविन गर्नुका साथै आगामी दिनमा विदुर नगरपालिकालाई भ्रष्टाचाररहित नगर बनाएर उदाहरणीय बनाउनेछौं ।

प्रस्तुति ः पुष्पा महरा

 

सम्बन्धित खबर