धादिङ । नेकपा एमालेले भ्रष्टाचार ‘ठहर’ भएका एक व्यक्तिलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको पाइएको छ । विद्यालय भवन निर्माणमा भ्रष्टाचार गर्ने देव प्रसाद त्रिपाठीलाई एमालेले बेनिघाट रोराङ गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको हो ।
गाउँपालिका अध्यक्षका उम्मेदवार त्रिपाठी कुनै समय मलेखुस्थित श्री वागेश्वरी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए । उनी विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव समेत थिए । सोही विद्यालयको २०६७ सालमा करिब ८० लाख रुपैयाँ खर्चिएर निर्माण भएको भवनमा चरम अनियमितता भएको छानबीन समितिको ठहर थियो ।
भवन निर्माणमा चरम अनियमितता भएको थाहा भएपछि २०६८ सालमा गठित छानबीन समितिले त्रिपाठीले भ्रष्टाचार गरेको ठहर गरेको थियो । छानबीन समितिको प्रतिवेदन अनुसार भवन निर्माण सामग्रीको दरभाउ पत्र (कोटेशन) माग बिना नै मनोमानी खरिद गरिएको थियो । भवन निर्माणमा सप्लाई गर्ने गौरी शंकर फर्निचर तथा अञ्जन सप्लायर्सले दरभाउ सम्बन्धी सम्झौता पत्रसमेत उपलब्ध गराउन नसकेको, खरिद गरिएको जिन्सी सामानको आम्दानी खर्च र बाँकी देखिने स्पष्ट जिन्सी मौज्दात खाता नराखेको, प्रयोग भई बाँकी रहेको छड मध्ये केही फिर्ता गरिएको सम्बन्धमा छानबीन समिति गठन पूर्व कतै अभिलेख समेत नराखेको, छानबीन समिति गठनपश्चात सोधपुछको क्रममा छड फिर्ता गरिएकोबारे स्विकार गरिएको , डा. विशालनाथ उप्रेति तथा श्याम न्यौपाने मार्फत स्लेट ढुंगा खरिद र अन्य शिर्षकमा खर्च भएको भनिएको जम्मा २२ लाख ९८ हजार ९ सय ८० बराबरको बिल भर्पाई तथा अन्य विवरण समेत नभएको लगायत दर्जनौँ अनियमितताको ठहर गरिएको थियो ।
भवन निर्माणमा जेसीवि प्रयोग भएको स्पष्ट कार्यघण्टा विवरण समेत नभएको पाइएको थियो । त्यस्तै छडको प्रत्येक बण्डलमा तौलमै आएको प्रति पिस ८ सय ग्रामको १३० पिस विद्यायमा प्राप्त हुन नआएको, निर्माण समितिको मिति २०६७।०९।१४ मा बसेको बैठकको निर्णय अनुसार जम्मा खर्च ७९ लाख ४६ हजार २ सय ४ रुपैयाँ मध्ये भुक्तानी भएको जम्मा ७६ लाख ९८ हजार ९ सय ८० र भुक्तानी हुन बाँकी २ लाख ४७ हजार २ सय २४ पारित गरिएकोमा गौरी शंकर फर्निचरलाई ९ हजार ५ सय ९६ र अन्जन सप्लायर्सलाई २ लाख ३७ हजार ६ सय २८ भुक्तानी गर्न बाँकी भनिएपनि अञ्जन सप्लायर्सबाट प्राप्त विवरण अनुसार उक्त कम्पनिलाई ३ लाख ३५ हजार ८ सय ६० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख थियो । त्यस्तै १ लाख ६५ हजार भन्दा बढी रकमको गिटी, ट्याक्टर भाडा र बालुवा तथा लोडअनलोड बापत भुक्तानी गरिएको भनिएपनि ४ लाख ५० हजार ५ सय रुपैयाँ बराबरको बिल भर्पाई नै नभएको छानबीन समितिको ठहर छ ।
त्यस्तै त्रिवेणी ग्रिल उद्योगलाई बिल अनुसार १ लाख ६३ हजार ८ सय ५५ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा १ लाख ६० हजार मात्रै भुक्तानी गरिएको पाइएको थियो । बाँकी रहेको रकम ३ हजार ८ सय ५५ रुपैयाँबारे कतै हिसाब नभएको उल्लेख छ ।
त्यस्तै ठेकेदारको तर्फबाट खरिद गरिनुपर्ने ३ हजार ९ सय रुपैयाँको बाँस समेत विद्यालयको तर्फबाट खरिद गरेर विद्यालयलाई हानी पुर्याएको प्रतिवेदनको ठहर छ ।
छानबीन समितिले तत्कालिन प्राचार्य तथा विद्यालय व्यवस्थापन समितिका सचिव त्रिपाठीबारे विभिन्न बुँदामा अनियमितता गरेको ठहर गरेको थियो ।
उनले प्रधानआचार्य जस्तो पदमा रहेपनि आर्थिक पारदर्शिता अपनाउन नसकेको समितिको ठहर थियो । उनले स्पष्ट अध्ययन विना भुक्तानी दिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
‘निर्माण कार्य सम्बन्धी अन्य सम्पूर्ण जिम्मेवादरी निर्माण समितिलाई सुम्पिएर आर्थिक लेनदेन कार्य आफूमा सिमित राखेको, बैंक खाता मार्फत् आर्थिक कारोबार गर्ने प्रयत्न नगरेको, सामान प्राप्त हुनु पूर्व बिना सम्झौता पेश्की भुक्ताी गरेको, खरिद बापतको छुट सुविधा प्राप्त गर्न, सामानको मुल्य घटाउन, बिल सामानसँगै प्राप्न गर्न प्रयास नगरेको,’ समितिको प्रतिवेदनमा भनिएको छ,‘सम्पूर्ण आर्थिक कारोबारको समिक्षा बिना निर्माण समितिदवार प्रस्तुत प्रतिवेदन सम्मानित अभिभावक भेला समक्ष पेश गरेको ।’
उक्त भवन निर्माणमा ५ लाख ९ सय २० रुपैयाँ भ्रष्टाचार भएको समितिको ठहर थियो ।
मलाई अख्तियारले सफाई दिइसक्यो : त्रिपाठी
यता तत्कालिन प्रअ तथा हाल नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार देव प्रसाद त्रिपाठीले भने आफूलाई अख्तियारले नै सफाई दिईसकेको बताए । ‘त्यो बिलकुल गलत हो । मेरो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । उहाँहरु यहीँ आएर छानबीन गरेर यो मुद्दामा मलाई सफाई दिनु भएको हो,’ उनले भने,‘अहिले म निर्वाचनमा उठेको भएर यस्तो विषय आएको हुनुपर्छ । तर, त्यसमा म बिल्कुल निर्दोष छु ।’