चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा विहिबार सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न चितवन पुगेका छन् । बुधबार चितवन अवतरण भएका देउवाले राज्यशक्तिको दुरुपयोग गरेर पार्टीको निर्वाचन प्रचारमा हिँडेको भन्दै निर्वाचन आयोगमै उजुरी परेको छ । तर, प्रधानमन्त्री देउवाले सरकारी खर्चमा भन्दा पनि पार्टीकै खर्चमा निर्वाचन प्रचार प्रसारमा हिँडेको पाइएको छ ।
बुधबार नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट सभापति देउवा विराटनगर हुँदै भरतपुर विमानस्थल उत्रिएका थिए । उक्त जहाजको भाडासमेत नेपाली कांग्रेसले नै तिरेको थियो । उनलाई लिन राज्यमन्त्री समेत रहेका व्यापारी उमेश श्रेष्ठको बा ३ च २०४० नम्बरको ल्याण्डक्रुजर प्राडो विमानस्थलसम्म पुगेको थियो ।
उनी सरकारी झण्डा बिना नै गाडीमा सवार भएका थिए । उनी चितवन रहँदा श्रेष्ठकै लगानी रहेको सिराइचुली होटलमा बसिरहेका छन् । उक्त होटलको खर्च समेत पार्टीले व्यहोर्ने जनाइएको छ ।
उनीसहित उक्त होटलमा बरिष्ठ नेता रामचन्द्र पौडेल पनि रहेका छन् । आज हुने विशाल चुनावी सभालाई सम्बोधन गर्न देउवा र पौडेल त्यहाँ पुगेका हुन् । पौडेलले विहिबार विहानै भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई भेटेर उम्मेदवारी फिर्ता लिइदिन अनुनय गरेका थिए ।