खानेपानी ट्याङ्कीमा भ्रष्टाचार गर्ने व्यक्ति एमालेबाट त्रिपुरासुन्दरीमा वडाध्यक्षको उम्मेदवार !

diyopost.com
दियो पोस्ट  बिहिबार, बैशाख २२, २०७९ | १६:२३:२४

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपािलका ४ बेलुनमा निर्माण भएको खानेपानी ट्याङ्की निर्माणमा घोटाला गर्ने एक व्यक्ति नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेको पाइएको छ ।

नेकपा एमालेका तर्फबाट वडा नम्बर ४ को वडाध्यक्ष पदको उम्मेदवार बनेका अर्जुन विसुन्केले विभिन्न नक्कली बिल खडा गरि ट्यांकी निर्माणमा भ्रष्टाचार गरेको स्थानियबासीको आरोप छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षलाई झुक्यानमा पारी उनले भुक्तानी लिएको स्थानियबासीले दियोपोस्टलाई जानकारी दिए । तत्कालिन नेकपा माओवादीबाट वडासदस्यमा निर्वाचित विसुन्केले धादिङकै एक सप्लायर्सबाट विल लिएर गएर भुक्तानी लिएको आरोप छ ।

स्थानियबासीका अनुसार उक्त पानी ट्यांकीमा जिआइ पाइप नै प्रयोग भएको छैन तर, उनले भने जिआई पाइप प्रयोग गरेको भन्दै बिल बनाएर वडा कार्यालयबाट भुक्तानी लिएका छन् ।

 

करिब ६ लाख बराबरको जिआई पाइप खरिद गरिएको बिल उनले वडामा पेश गरेका छन् । तर, सो क्षेत्रका स्थानियले उक्त ट्यांकी निर्माणमा कुनै पनि जिआईपाइप प्रयोग नभएको बताए । खानेपानी ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष टेक प्रसाद सिंखडाले ट्यांकी निर्माणमा जिआईपाइप प्रयोग नभएको र धादिङस्थित पसलमै रहेको स्विकार गरे । ‘त्यो पाइपहरु उता धादिङमै छ । यता सोही बिल पेश पनि गरिएको हो । भुक्तानी पनि लिएको हो,’ उनले भने,‘यो निर्माणमा हामी चुकेकै हौँ । पछि ठेक्कामा जाने भनेपछि अहिले निर्माण पनि अलपत्र परेको छ । पालिकाबाट पनि राम्रै कुरा आइरहेको थियो ।’

उनका अनुसार ट्यांकी निर्माणका लागि १५ लाख रुपैयाँ बिनियोजन भएको थियो । तर, गाउँपालिकाले ३ लाख रुपैयाँ कमिशन लिएर १२ लाख रुपैयाँ मात्रै भुक्तानी दिएको छ । ‘हामीले १२ लाख रुपैयाँ मात्रै पायौँ । बाँकी रहेको ३ लाख रुपैयाँ के मिलेन के मिलेन भनेर कर्मचारीले नै लिए,’ उनले भने,‘त्यति काम गर्न पनि निकै गाह्रो भयो ।’

यस विषयमा प्रतिक्रिया लिन विसुन्केको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

 

 

सम्बन्धित खबर